तीनधारे: जेबी गुरुङको अध्यक्षतामा सिलिमहिल निवासी स्व रामबहादुर (आरबी) दर्नालको निधनमा एक शोक सभा सम्पन्न भयो। सभामा उपस्थित व्यक्तिहरूले स्व रामबहादुर दर्नालको आत्माले शान्ति पाउन् भनी एक मिनटको मौन धारण गरे। सभामा जेबी गुरुङले रामबहादुर दर्नाल दागोपापको पूर्व अध्यक्ष सुवास घिसिङको नेतृत्वमा गरिएको गोर्खा जातिको स्वभिमानको आन्दोलनमा सक्रिय रूपले आफ्नो सम्पूर्णता दिएर सहयोग गरेका थिए भनी बताए। उनले आरबी दर्नाल स्व सुवास घिसिङको निकटतम समकालीन अनि सहयोगी रहेर आएका थिए भन्दै उनको निधनले सम्पूर्ण गोर्खा जातिमा आघात अनि गोर्खा जातिको इतिहासको एक पन्ना बिलाएर गएको महसुस गर्दछ भनी बताए। जेबी गुरुङले अघि भने, स्व रामबहादुर दर्नाल निष्ठावान्, कर्तव्य परायण अनि जातिप्रति चिन्ता गर्ने एक महान् व्यक्ति थिए। उनको निधनले गोरामुमो तीनधारे सुकुना समष्टिमा शोकको लहर छाएको छ। उनको यस निधनमा शोकाकुल परिवारजनलाई ईश्वरले सहन गर्ने क्षमता प्रदान गरून्।अध्यक्ष जेबी गुरुङले स्व रामबहादुर दर्नालको अन्त्येष्टि कार्य आगामी ११ मार्चको दिन घैयाबारीस्थित मानेडाँडा सार्वजनिक भवनमा हुने हुनाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न हेतु अन्त्येष्टि कार्यमा सामेल हुने अनुरोध गरेका छन्। आजको शोकसभा स्थानीय वासिन्दाहरू प्रमोद थापा, पूर्ण गुरुङ, विजय मंगर,सुरज घले, दिपेन गुरुङ, संग्राम घतानी, अमित प्रधान, देवेन्द्र राई, रन्जित सार्की, शिला प्रधान अनि अनिता तामाङको विशेष उपस्थिति थियो।