सोनादा: सोनादा पुलिस आउट पोष्ट र सोनादा युनाईटेड फुटबल क्लबको संयुक्त आयोजनामा भईरहेको भेटरेन फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा बतासे भेटरेन र दार्जिलिङ भेटरेनले आफ्नो आफ्नो खेल जितेको छ। विगत २६ फरवरीदेखि शुरु भएको भेटरेन फुटबल टुर्नामेन्ट अन्तर्गत आज शनिवार पहिलो खेल बतासे भेटरेन र बुङकुलुङ भेटरेनमाझ सम्पन्न भएको थियो। उक्त खेलमा बतासे भेटरेनले बुङकुलुङलाई ५-२ को अन्तरले जित्न सफल भएको छ। आज भएको दोस्रो खेलमा दार्जिलिङ भेटरेनले भालुटार भेटरेनलाई ३-१ को अन्तरले जितेको छ। यस खेलमा प्रमुख अतिथिको रूपमा सोनादा पुलिस आउट पोष्टको इन्चार्च फुर्बा पाख्रिन, विशिष्ट अतिथिहरूमा सोनादा पचेङ समष्टीको पूर्व सभासद एंव पूर्व खेलाड़ी महेन्द्र प्रधान, उत्तराखण्डको पुरुष र महिलावर्गको कोचहरू क्रमैले कुन्दनचन्द्र र प्रिया तिवारी उपस्थित रहेका थिए। उक्त भेटरेन फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १ अप्रेलको दिन सम्पन्न हुने भएको सोनादा पुलिस आउट पोष्टको एएसआई लाक्पा शेर्पाले जानकारी गराएका छन्।









