४ मार्चः इन्दौरको होल्कर स्टेडियममा खेलिएको तेस्रो क्रिकेट टेस्ट म्याचमा अष्ट्रेलियाले भारतलाई ९ विकेटले पराजित गऱ्यो। गत दुईवटा म्याच झैं इन्दौरमा पनि खेल पूरा पाँच दिनसम्म चलेन अनि तीन दिन भित्रै समाप्त भयो। यसको मुख्य कारण पीच रह्यो, जसले स्पिनरहरूलाई भरपूर सहयोग प्रदान गऱ्यो। तेस्रो टेस्टमा जम्मा ३१ विकेटको पतन भयो, जसमा २६ विकेट स्पिनरहरूले हासिल गरे। यसैकारण पीचलाई लिएर प्रश्न उठ्न थालेको छ। यसबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले पनि पीचलाई लिएर आफ्नो रिपोर्टमा भारतलाई ठूलो धक्का दिएको छ।

आईसीसीले बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको निम्ति होल्कर स्टेडियममा तयार गरिएको पीचलाई खराब बतायो। यसको साथमा इन्दौरलाई तीन डिमेरिट अंक पनि प्राप्त भयो अनि यो अंक पाँच सालसम्म सक्रिय रहनेछ। तेस्रो टेस्ट म्याचमा दुवै टीमले २००-को आँकड़ालाई छुन सकेन। आईसीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आईसीसी म्याच रेफरी क्रिस ब्रडले आफ्नो रिपोर्ट आईसीसीलाई सुम्पिएका छन्, जसमा उनले म्याच अधिकारी र दुवै टीमका कप्तानहरूसँग कुरा गरेर चिन्ता व्यक्त गरेका छन्। यस आकलनपछि स्थललाई तीन डिमेरिट अंक दिइयो।

आईसीसीको यस रिपोर्ट विरुद्ध अपील गर्नको निम्ति भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-सँग १४ दिनको समयसीमा रहेको छ। ब्रडले भनेका छन्, पीच एकदमै सुख्खा थियो। यसैकारण ब्याट र बलबीच सन्तुलन हुन सकेन अनि पीचबाट शुरुदेखि नै स्पिनरहरूले अतिरिक्त सहायता पाए।