बारेचहरीया भाओनाको संक्षिप्त ऐतिहासिक विवरण 

00-1-Assam-Article

असम राज्यको शोणितपुर जिल्ला अन्तर्गत जामुगुडिहाट भन्ने बित्तिकै भारतवर्षका विभिन्न क्षेत्रमा बस्ने धर्मानुरागीहरूले आध्यात्मिकताको बग्दो नदी स्वरूप बारेचहरीया भावना महोत्सवलाई सम्झन्छन्। महापुरुष शंकरदेवले रोपेको धार्मिक वृक्षलाई मलजल गरेर फस्टाउनमा सघाउ पुर्याउदै आएको बारेचहरीया भाउना महोत्सव हालमा असम तथा भारतकै मात्र नभएर बिभिन्न जाति, जनगोष्ठी, धर्म, सम्प्रदायले गठन भएको बृहत असमीया जातिको संस्कृति, कला, साहित्य आदिलाई समेटन सक्षम भएको सम्पूर्ण विश्वकै एउटा अद्वितीय धर्मिक अनुष्ठान बन्न पुगेको छ। 

हामी असमको भूमिलाई मातृतुल्य मान्ने गोर्खाहरूका पुर्वजले सङ्करदेवले प्रचार गरेको नव वैष्णव धर्मलाई अङ्गालेर ईश्वर भक्तिमा एकचित्त रहेका उदाहरण बेलाबखत सुन्न पाइन्छ। त्यतिमात्र होइन बारेचहरीया भाओना प्रति हाम्रो सद्भाव छ र नै केही दशक अघिदेखि प्रत्यक्ष अथवा परोक्ष रूपमा यो महान महोत्सवसँग हामी पनि जडित हुँदै आएका छौं। हाम्रो जाति बारेचहरीया भाओना महोत्सवको दर्शक मात्र नभएर कहिले शोभायात्रामा आफ्नो कलासंस्कृति र भेषभुषा प्रदर्शन गर्दै, कहिले प्रदर्शनीमा परम्परागत औजार र खानपानमाई उपस्थापन गर्दै, कहिले व्यवसायिक क्रियाकलाप प्रदर्शन गर्दै, कहिले पसलदारको रूपमा, कहिले आयोजन समितिमा रहेर  विभिन्न तरिकाले सहभागि हुँदै आएको छ। 

बारेचहरीया भाओना महोत्सवको बारेमा नजान्ने मान्छे असममा नहोलान् र पनि हिजोआज दुर्दर्शनका अनुष्ठान देखि लिएर पत्रपत्रिकाको शिरोनामसम्म जग्गा ओघटन सक्षम भएको बारेचहरीया भाओनाको बारेमा प्रतियोगितामूलक परीक्षामा पनि प्रश्न गरेको देख्न पाइन्छ। हालैमा अनुष्ठित असम सरकारको तेस्रो र चौथो बर्गको मौखिक परीक्षामा पनि बारेचहरीया भाओना सम्बन्धित प्रश्न सोधिएको थियो भनेर केही परीक्षार्थीहरूको मुखबाट सुन्न पाइएको थियो। त्यसैले कला, धर्म र संस्कृतिक ज्ञानले सम्पन्न बन्न मात्र नभएर जीवनका शैक्षिक कसौटीहरू पार लगाउन पनि बारेचहरीया भाओना महोत्सवको बारेमा जान्नु जरूरी भएको छ।

जामुगुडिहाटमा यो बृहत अनुष्ठान जुन खेतमा मनाउने गरिन्छ त्यो खेत ‘पकामुरा पथार’ नामले प्रसिद्ध छ। तथ्यअनुसार बारेचहरीमा भाउना महोत्सव एकै रातमा खडा भएको अनुष्ठान होइन। यसले २२६ वर्षको इतिहास बोकेको छ। सन १७९७ मा वर्तमानको जामुगुडिहाट व्यवसायिक केन्द्र स्थलको दक्षिण दिशामा अवस्थित पाचिगाउँ भन्ने गाउँको पछिल्तिर भएको ‘रघुदलनि’ भन्ने खेतमा यस अञ्चलका गाउँलेहरूको उद्योगमा बारेचहरीया भाओनाको जन्म हुन्छ। तेस्पछि प्रत्येक ५/६ वर्षमा जामुगुडिहाटका विभिन्न स्थानमा सम्पन्न हुदै आफ्नो यात्रा जारी राखेपछि सन १९६१ देखि यो अनुष्ठानले जामुगुडिहाटको डेकासुन्दर गाउँमा भएको पकामुरा पथार तथा पकामुरा खेतलाई आफ्नो स्थायी ठेगाना बनाउँछ। बिसौं शताब्दीको चालिस दसक अघि सम्म बारेचहरीया भाओनाको सम्पुर्ण खर्च यस अञ्चलका आम जनताले बहन‌ गरेका थिए भनेको सुन्न पाइन्छ। बिस्तारै बारेचहरीया भाओनासँग असमका विभिन्न ठाउँका भक्तहरू जोडिन थाल्छ्न र यो अनुष्ठान ३/४ दिवसीय बन्छ। त्यसपछि बारेचहरीया भाओनाले महोत्सवको रूप लिन्छ। बिस्तारै मण्डप वरीपरी असङ्ख्य भेला र बृहत मेला हुन थाल्छ।  

बारेचहरीया भाओना महोत्सवलाई विश्वसँग परिचय गराउने श्रेय जामुगुडिहाटका सुयोग्य सन्तान शिल्पी शोणितकोंवर गजेन‌ बरुवालाई जान्छ। उनकै परिकल्पनामा बारेचहरीया भाओनाको मण्डपले नया रुप पाएको भनिन्छ। गजेन बरुवाले आफ्नो समयमा भारतका विभिन्न पत्रपत्रिकामा असमीया, हिन्दी र अङ्ग्रेजी भाषामा लेखादि छपाएर बारेचहरीया भाओनाको प्रचार गरेका थिए। त्यसपछि बिस्तारै भारतका उत्तरपूर्वी राज्यहरूले पनि नृत्य, गीत, अभिनयको साथ सहयोग गर्न थाल्छन् अनि बारेचहरीया भाओना महोत्सवप्रति विभिन्न जाति, जनगोष्ठी, धर्म, भाषा, सम्प्रदायका जनताको उत्सुकता र सहयोगिता बढदै जान्छ। त्यसरिनै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गवेशक, नेता, साहित्यिक, कलाकार, पाहुनाहरूको दृष्टि आकर्शण गर्न बारेचहरीया भाओना महोत्सव सफल हुन्छ। आजको मितिसम्म आइपुग्दा बारेचहरीया भाओना विश्वकै एउटा विशेष धर्मीय अनुष्ठान मात्र नभएर समन्वयको सेतुमा पनि परिणत भएको छ। किनकि यसले सबै पर्खाल तोडेर उत्तर पूर्वी भारतका विभिन्न जाति, भाषा, सम्रदायका मान्छेहरूलाई एउटै मञ्चमा समेटेको देखिन्छ। सटिक तिथिमिति उल्लेख गर्न नसकेपनि केही दशक अघिदेखि यहाँका गोर्खा समुदायले पनि महोत्सवका विभिन्न कामकाजमा सक्रिय सहयोगिता तुल्याएको देख्न पाइन्छ। 

बारेचहरीया भाओनाको उल्लेखनीय कुरा के छ भने यहाँ रात्रि एकैचोटी एउटै समयमा २१ ठाउँमा भाओना प्रदर्शन गरिन्छ। जहाँ एकै ठाउँमा एउटा बृहत् गम्बुजको वरीपरी गोलाकार तरिकाले नामघर बनाएको देख्न पाइन्छ। ती नामघरहरू बाँस, खर, बेत आदिको प्रयोग गरेर परम्परागत तरिकाले बनाएको हुन्छ। बीचमा एउटा अग्लो पक्की स्थान हुन्छ जहाँ सिंहासन स्थापित गरेको हुन्छ अनि त्यो अग्लो सिंहासनको वरीपरी २१-२५ वटा नामघरहरू कमल फूलको थुँगा जस्तो देखिने गरी जोडिएको हुन्छ। ती नामघरहरूलाई असमीया भाषामा ‘खला’ भन्ने गरिन्छ। सिंहासनका चारैतिर भएका प्रत्येक खलाहरू एउटा एउटा मञ्च हुन जहाँ भाओना प्रदर्शन गरिन्छ। राती भएपछि तोकिएको समयमा प्रत्येक खलामा भाओना प्रदर्शन गरिन्छ। प्रत्येक खलाहरूको सम्मुखमा एउटा एउटा ‘बाटचरा’ (प्रवेश द्वार) बनाएको हुन्छ। उल्लेखित मञ्च, खला, नामघर तथा पण्डालहरूको नक्सा कुनै इन्जिनियरले तैयार गरेको हुदैन। सम्पूर्ण मण्डपको निर्माण गाउँलेहरूले निशुल्क गर्ने गर्छन् र पनि कतै चुक नगरि गाउँलेहरूले सबै खलाहरूमा एक रूपता कायम राख्न सक्षम हुन्छन्। नया मान्छेलाई मण्डप भित्र लिएर जानुभने त्येसले खलाहरूको बिचमा भिन्नता ठम्याउन सक्तैन भन्दा अत्युक्ति नहोला। आध्यात्मिक दृष्टिले हेर्दा हिन्दू सनातनी भावनाका साथ परिकल्पना गरेर मण्डप निर्माण गरिएको देखिन्छ। तो कमल फूल जस्तो अपूर्व मञ्च ब्रह्माको नाभि कमल हिन्दू धर्मको आधार हो। पण्डालमा भएका चौदहवटा खाँबाहरू हिन्दू शास्त्रमा उल्लेख भएका चौदहजना परिषद् हुन, जो मनुष्यको पाप धर्मको बिचार गर्ने साक्षी हुन्। 

यसपाली सम्पन्न हुने बारेचहरीया भाओना महोत्सवमा जामुगुडिहाट अञ्चलका गोर्खा शिल्पहरूले पनि भाओना प्रदर्शन गर्ने चाँजो मिलाइरहेका छन्। गोर्खा शिल्पीहरूद्वारा वर्तमान १८ नम्बरको ‘खला’ निर्माण  भइरहेको छ। शङ्करदेवले देखाएको धर्मीय सांस्कृतिक बाटो अनुसरण गरी विश्व स्तरीय एउटा धर्मीय अनुष्ठानमा भाओना प्रदर्शन गर्नु असमे गोर्खाहरूको लागि निश्चयपनि एउटा ऐतिहासिक कुरा बन्न जादैछ अनि निसन्देह हामी त्यस इतिहासको साक्षी बन्नेछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement