गान्तोकः सत्तारूढ एसकेएम पार्टीको महत्वकांक्षी ‘सिक्किम आमा सशक्तिकरण योजना’ अन्तर्गत लाभार्थी आमाहरूलाई आर्थिक सहायता वितरण शुरू गरिएको छ। पश्चिम पाण्डम निर्वाचन क्षेत्र अन्तर्गत रम्फू खेल मैदानमा आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष पीएस तामाङले लाभार्थी आमाहरूलाई २०-२० हजार रूपियाँको चेक प्रदान गरे। एसकेएम पार्टीको महिनाव्यापी घर दैलो अभियान समापनको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको
थियो। आज मुख्यमन्त्रीको बाहुलीद्वारा राज्यको प्रत्येक निर्वाचन क्षेत्रका एक-एकजना लाभार्थीलाई चेक प्रदान गरियो। यस योजनाबाट राज्यका १४ हजार आमा लाभान्वित बन्ने बताइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै एसकेएम अध्यक्ष तामाङले आमाहरूको सम्मानमा सरकारले सिक्किम आमा सशक्तिकरण योजना शुरूवात गरिरहेको बताए। उनले यस योजनाअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका ५००-५०० सय आमालाई हरेक साल २० हजार रूपियाँको दरले आर्थिक सहायता प्रदान गरिने बताए।

पूर्व सरकारलाई निशाना बनाउँदै मुख्यमन्तीले सिक्किममा २५ वर्ष राज गर्ने सरकारले सोच्न नसकेको काम केवल तीन वर्ष पुगेको एसकेएम सरकारले गरेर देखाएको बताए। उनले पूर्वको एसडीएफ सरकारमा आमाहरूलाई नारा ‘लगाउने, पार्टीको झण्डा बोक्ने र राजनीतिक फाइदाको निम्ति मात्र प्रयो गरिन्थ्यो भनी आरोप लगाए। तर, २०१९ मा ‘एसकेएम पार्टीको सरकार गठन भए यता वर्तमान सरकारले सिक्किमे आमाहरूको पक्षमा धेरै काम गरेको छ भनी बताए।
उनले जुन आमाहरू दुःखमा छन् यस्ता आमाहरूको छनौट गरेर प्रत्येक वर्ष आर्थिक सहायता प्रदान गरिने बताए। उनले आज वितरण भएको चेक वर्ष २०२२ को रहेको जानकारी गराउँदै २०२३ को चेक आगामी अक्टोबर-नोभेम्बर महिनामा प्रदान गरिने बताए। उनले यस योजनाका लाभार्थी आमाहरूलाई सिक्किम राज्य ब्याङ्कमा खाता खोल्न ‘लगाए। उनले यस योजनाका लाभार्थीहरू जसले यो रकम प्रयोग गर्नुका साथै कमाएर ब्याङ्कमा पैसा जमा पनि गर्नेछन् यस्ता आमाहरूलाई सरकारले पुरस्कृत गर्ने घोषणा गरे। उनले एक वर्षमा सर्वाधिक पैसा जमा गर्ने तीनजना आमालाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रूपियाँ प्रदान गर्ने बताए। उनले सिक्किम राज्य ब्याङ्कमा खाता छ भने लाभार्थीहरूको जाँच र छनौट गर्न सरकारलाई सहज हुने हुनाले उक्त ब्याङ्कमा खाता खोल्न बल दिइएको स्पष्ट पारे।