चामलिङको राजनीति अब कोमल चामलिङको निम्ति होः मुख्यमन्त्री तामाङ
गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले गत १ फरवरी देखि शुरु गरेको घर दैलो अभियान कार्यक्रम आज रम्फूको खेल मैदानमा भव्यरूपमा समापन भयो। यस अवसरमा राज्यका मुख्यमन्ती प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आजको यस महत्वपूर्ण कार्यक्रममा विभिन्न पार्टी त्याग गर्दै धैरै जनाले एसकेएम पार्टीको झण्डा समाते। एसकेएम पार्टीमा सामेल हुनेहरूमा एसडीएफ पार्टीका पूर्वमन्त्री जीएम गरूङ र सीबी कार्की, पूर्व विधायक चन्द्रमाया सुब्बा प्रमुख रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एसडीएफ पार्टीले जस्तो बदलाको भावना नराखी एसडीएफ पार्टीको स्थापना दिवसको अवसरमा बन्द नगर्ने घोषणा गरे। यस अघि नै एसडीएफ पार्टीले आफ्नो स्थापना दिवस पालन नगरेर शोक दिवस मनाउने अगावै घोषणा गरिसकेको मुख्यमन्ती तामाङले आफ्नो सम्बोधनमा उल्लेख गरे। सो पार्टीले राज्यका जनतालाई शोषण साथै धोका दिएको हुनाले शोक दिवस मनाउनु एसडीएफ पार्टीको निम्ति सान्दर्भिक रहेको बताए। विधायक चामलिङले अब राजनीतिबाट सन्यास लिनु पर्ने पनि उनले मञ्चबाट सुझाउ दिए। अब चामलिङको समय सकिएको र उनको अपरिपक्क व्यवहारले जनता अघि आफू नाङ्गो बनिसकेको उनले बताए।

मुख्यमन्त्रीले चामलिङको राजनीति अब सिक्किमको निम्ति नरहेर उनकी छोरी कोमल चामलिङको निम्ति मात्र रहेको पनि दावी गरे। उनी आफू सत्तामा हुँदा गरीबको भाग्य खोसाएर आफ्नो छोरीलाई हावर्डमा पढाएको र परिवारवादलाई प्राथमिकता दिएको आरोप लगाए। यदि कोमल चामलिङ राजनीतिमा आउँछ भने यसमा सिक्किमे ‘जनता डराउनु पर्ने कुनै काम नरहेको र यसको उत्तर सिक्किमे जनताले आगामी २०२४ मा सम्पन्न हुने सिक्किम विधानसभाको चुनाउमा दिने बताए। आगामी २०२४ मा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउमा एसकेएम पार्टीले ३२-मा ३२ सीट नै जिले उनले ठोकुवा गरे। वर्तमान सरकारले राज्यको हितमा काम गरिरहेको जानकारी गराउँदै राज्यका नेपालीहरूमाथि लागेको विदेशीको लाञ्छना हटाउन वर्तमान सरकार सफल भएको बताए। तर यस मुद्दामा धेरै जनाले राजनीति गर्ने ‘कोशिश गरेको तर असफल भएको जनाए। आजको यस समापन कार्यक्रममा पूर्वमन्ती जीएम गुरुङले पनि सम्बोधन गरे। सम्बोधनको क्रममा उनले पूर्व मुख्यमन्तीलाई पनि एसडीएफ पार्टी त्यागेर एसकेएममा सामेल बनेर सल्लाहकार भएर बस्ने आग्रह गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले अवश्य पनि आफ्नो सरकारको स्वर्ण जयन्ती मनाउन पाउने उनले विश्वास व्यक्त गरे।