गान्तोक: ओडिशा राज्यबाट ३१ जना विद्यार्थीहरू अनि पाँचजना समन्वयकसहितको युवा संगम टोली २ मार्चको दिन सिक्किम आइपुगेको छ। उनीहरूलाई राभाङ्लास्थित एनआईटी सिक्किमका संकाय कर्मचारीगण एवं विद्यार्थीद्वारा न्यानो स्वागत जनाइयो। एक भारत श्रेष्ठ भारत पहल अन्तर्गत भारत सरकारको शिक्षा मन्त्रालयद्वारा परिकल्पना गरिएको यो युवा संगम भ्रमण ओडिशामा सिक्किमे युवाहरूको निम्ति आयोजित यात्राकै पारस्परिक कार्यक्रम हो। शिक्षा मन्त्रालयको ध्वजवाहक कार्यक्रमको रूपमा देशका विभिन्न राज्यहरूबीच भइरहेको यस युवा संगममा युवाहरूको उत्साहजनक सहभागितासँगै सफल रूपमा आयोजन भइरहेको छ। ओडिशाबाट आएको भ्रमण टोलीलाई एनआईटी परिसर, राभाङ्लामा विद्यार्थीहरूले सिक्किमको पारम्परिक खदा एवं फूल गुच्छा प्रदान गरेर स्वागत जनाए।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एनआईटी सिक्किमका निर्देशक प्रो. महेश चन्द्र गोविलले भ्रमण टोलीलाई स्वागत जनाउँदै सिक्किमबाट ओडिशा गएको सिक्किमे युवा तथा विद्यार्थीहरूको टोलीलाई आतिथ्य सत्कारको निम्ति एनआईटी राउरकेलाप्रति आभार प्रकट गरे। उनले भ्रमणमा आएको टोलीलाई केन्द्र सरकारद्वारा प्रदान गरिएको यस सुनौलो अवसरको पूरा लाभ उठाउन साथै सिक्किमको प्राकृतिक सौन्दर्य अनि सिक्किमवासीको आतिथ्य सत्कारको आनन्द लिने आह्वान गरे।
सिक्किमको समग्र यात्रा कार्यक्रम लिएर आएको भ्रमण टोलीमा ओडिशा राज्यका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरू साथै समन्वयकको रूपमा एनआईटी राउरकेलाका कर्मचारीहरू सामेल छन्। भ्रमण अवधिमा उक्त टोलीले सिक्किमको समृद्ध सांस्कृतिक विविधतालाई प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रमको आनन्द उठाउनेछ भने विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण साथै सिक्किमको आर्थिक गतिविधिहरूबारे अध्ययन हेतु सिक्किम सरकारका उद्यमहरू, एसएचजी साथै जैविक खेती अनि चिया खेती सम्बन्धी जानकारीहरू पनि एकत्रित गर्नेछ। प्रतिनिधिमण्डलले सिक्किमका राज्यपाल लक्ष्मण आचार्य, मन्त्रीगण साथै सांसदसित पनि भेट गर्ने कार्यक्रम रहेको छ।
एनआईटी सिक्किम अनि आईआरसीटीसीले स्थानीय स्तरमा आतिथ्य एवं यात्रा सम्बन्धी भार लिएको यस भ्रमण कार्यक्रमलाई सफल बनाउन सिक्किम सरकारले पनि पूर्ण सहयोग गरिरहेको छ। पर्यटन, परम्परा, प्रगति, प्रौद्योगिकी एवं परस्पर सम्पर्क जस्ता पाँचवटा समृद्ध क्षेत्रहरू सम्मिलित परिकल्पनाअन्तर्गत बहुआयामी उद्देश्य बोकेको यो युवा संगम कार्यक्रम अन्तर्गत ओडिशाको टोलीले ३ मार्चदेखि ७ मार्चसम्म सिक्किमको विभिन्न स्थानहरूको भ्रमण गर्नेछ। यात्राको पहिलो दिन राभाङ्लास्थित एनआईटी, सिक्किमले सांस्कृतिक आदान-प्रदान कार्यक्रम आयोजन गरेको थियो। कार्यक्रममा एनआईटी सिक्किमका निर्देशक, राभाङ्लाका महकुमा अधिकारी, पर्यटन विभागका उप-निर्देशकलगायत अन्य गण्यमान्यजनको उपस्थिति रहेको थियो। कार्यक्रममा एनवाईके, नाम्चीका स्वयंसेवक, जेएनभी राभाङ्ला अनि एनआईटी सिक्किमका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रमपछि ओडिशाको टोलीले राभाङ्लास्थित बुद्ध पार्कको भ्रमण साथै राभाङ्लावासीसित अन्तरक्रिया पनि गरेका छन्। –पीआईबी










