कालचिनीः चिया श्रमिकहरूको पीएफ समस्या केन्द्रले दिने भनेको एक हजार करोड़ रुपियाँको हिसाब र चिया श्रमिकका स्कूले छोराछोरीहरूले टी बोर्डबाट पाइने विद्यार्थी भत्ता बन्द रहेको जवाफ माग्दै दोस्रो चरणको विधायक अनि सांसदको घर घेराउ कर्मसूचीको तेस्रो दिन शुक्रबार कालचिनी विधायक विशाल लामाको गाउँ भाटपाड़ाको घेराउ कार्यक्रममा आईएनटीटीयूसी राज्य सभापति ऋतुब्रत ब्यानर्जी आइपुग्यो।
चियाश्रमिकहरूको हितमा एकातिर राज्यको मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल कङ्ग्रेसले काम गरीरहेको र अर्कोतिर चिया श्रमिकहरू करोड़ौँ पीएफको रकमबाट वञ्चित रहन परेको बेला सांसद मन्त्री र विधायकहरू किन चुप भन्दै यसको जवाफ माग्नलाई तृणमूल कङ्ग्रेस र आईएनटीटीयूसी एवम् तृणमूल चियाबारी श्रमिक यूनियनले गत दिसम्बर महीनाबाट पैदलयात्रा जलपाइगढी पीएफ कार्यालय घेराउ र अहिले सांसद, मन्त्री र विधायकहरूको घर घेराउ कर्मसूची चलिरहेको ऋतुब्रत ब्यानर्जीले बताएका छन्।
पत्रकारहरू समक्ष बोल्दै आईएनटीटीयूसी राज्य सभापति ऋतुब्रत ब्यानर्जीले भाजपा अनि यसको नौटंकी देखाउने सांसद मन्त्री र विधायकहरूले आजसम्म चियाश्रमिकको हितमा केही नगरेको र पीएफ विभाग केन्द्रको अधीनमा रहेको र हजारौँ लाखौँ श्रमिकहरूको पीएफ रकम आधारकार्ड र पीएफ रेकर्डमा भूल रहेको तर यसको संसोधन गराउन सांसद तथा मन्त्रीले कुनै पहल केन्द्र सरकारसित नगराएको त्यति मात्र नभएर केन्द्रले चियाबारीको निम्ति निम्ति एक हजार करोड़ रुपियाँको घोषणा गरेर त्यो पैसा खोई आजसम्म चिया उद्योगले पाएको र डन्कन्सको चियाबारी अधिग्रहण गर्ने प्रधानमन्त्रीको वाचा खोई पुरा गरेको भन्दै यसको जवाफ माग्नलाई नै यो धारावाहिक धरना कर्मसूची पालन गरीएको औ आगामी दिनमा अझै यस्ता आन्दोलन कर्मसूची तृणमूलले भाजपालाई नंग्याउन जारी राख्ने जनाएका छन्।
चियाश्रमिकहरूले केन्द्रको भाजपा सरकार र यसका नेता मन्त्री, सांसद र विधायकहरूको नाटक र झुटो आश्वासन चिन्ने समय आएको घेराउमा उपस्थित तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बढ़ाईक, जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, तृणमूल चियाबारी श्रमिक यूनियनका सभापति बिरेन्द्र बारा उराँव र आईएनटीटीयूसी अलिपुरद्वार जिल्ला सभापति विनोद मिञ्ज एवम् अन्यान्य नेतृत्वहरूले आह्वान गरेका छन्।










