२ मार्चः स्टार अलराउण्डर रविन्द्र जडेजा महान कपिल देवपछि अन्तर्राष्ट्रिय क्रिकेटमा ५०० विकेट लिनको साथै ५००० रन बनाउने दोस्रो भारतीय क्रिकेटर बने। यस ३४ वर्षीय अलराउण्डरले भारत र अष्ट्रेलियाबीच इन्दौरमा जारी तेस्रो टेस्ट म्याचको अवधि ओपनिंग ब्याटर ट्रेविस हेडलाई एलबीडब्ल्यू आउट गरी यस उपलब्धिलाई हासिल गरे। त्यो टेस्ट क्रिकेटमा उनको २६०औं विकेट थियो, जसले उनको अन्तर्राष्ट्रिय क्रिकेटको तीनैवटा प्रारूप मिलाएर विकेटको संख्या ५०० पुग्यो। देब्रे हातका स्पिनर जडेजाले १७१ वटा वनडेमा १८९ विकेट र ६४ वटा टी२० अन्तर्राष्ट्रिय म्याचमा ५१ विकेट लिएका छन्। जडेजा उपयोगी ब्याटर पनि हुन्। उनले टेस्ट क्रिकेटमा ३६.८८-को औसतले २६१९ रन बनाएका छन्, जसमा तीनवटा शतक सामेल छ। वनडेमा उनको नाममा २४४७ र टी२०आई-मा ४५७ रन रहेको छ।
भारतलाई १९८३-मा पहिलोपल्ट वर्ल्ड च्याम्पियन बनाउने कप्तान कपिल देव यस उपलब्धिलाई हासिल गर्ने देशका पहिलो क्रिकेटर थिए। उनले १३१ वटा टेस्टमा ४३४ विकेट अनि २२५ वटा वनडेमा २५३ विकेट लिएका थिए। यसरी उनको नाममा ६८७ वटा अन्तर्राष्ट्रिय विकेट रहेको छ। यसबाहेक कपिलले टेस्टमा ५२४८ र वनडेमा ३७८३ रन बनाएका थिए। कपिल र जडेजा बाहेक विश्व क्रिकेटमा यस खास उपलब्धिलाई हासिल गर्ने खेलाड़ीहरूमा दक्षिण अफ्रिकाका ज्याक कलिस (२५५३४ रन र ५७७ विकेट) र शन पोलक (७३८६ रन र ८२९ विकेट), पाकिस्तानका इमरान खान (७५१६ रन र ५४४ विकेट), वसीम अकरम (६६१५ रन र ९१६ विकेट) र शाहिद अफरीदी (१११९६ रन र ५४१ विकेट), ईंग्ल्याण्डका इयान बोथम (७३१३ रन र ५२८ विकेट), श्रीलंकाका चामिण्डा भास (५११४ रन र ७५५ विकेट), न्यूजील्याण्डका डेनियल भिटोरी (६९८९ रन र ६६७ विकेट) र बंग्लादेशका शाकिब अल हसन (१३४४५ रन र ६५३ विकेट) सामेल छन्।