२ मार्चः ढाड़को तल्लो हिस्सामा रहेको चोट अनि सर्जरीको खबरबीच अनुभवी पेस बलर जसप्रीत बुमराह इण्डियन प्रीमियर लीग (आईपीएल) मात्र नभएर वर्ल्ड टेस्ट च्याम्पियनशीपबाट पनि बाहिर हुने तय छ। यसैकारण मुम्बई इण्डियन्स फ्रेञ्चाइजी आफ्नो पेस आक्रमणलाई लिएर चिन्तित रहेको छ तर यसपाली उनीहरूका निम्ति राहतको खबर अघि आएको छ। ईंग्ल्याण्डका पेस बलर जोफ्रा आर्चर आईपीएल-को पूरा सीजन उपलब्ध रहने सम्भावना रहेको छ। गत वर्ष फ्रेञ्चाइजीले ८ करोड़ रुपियाँ खर्च गरेर आर्चरलाई हासिल गरेको थियो तर चोटले गर्दा उनले एउटा म्याच पनि खेल्न सकेनन्। यसपाली चाहिँ उनले आईपीएल-को पूरा सीजन खेल्ने खबर प्राप्त भएको छ। ईंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी)-का एकजना शीर्ष अधिकारीले भनेका छन्, उनी (आर्चर) आईपीएलमा सम्पूर्ण रूपले खेल्न सक्षम हुनु पर्नेछ। सदा झैं उनको फ्रेञ्चाइजी र ईसीबी-ले कार्यभार प्रबन्धन गर्नेछ।
आर्चरले लगभग १८ महिनाको ब्रेकपछि दक्षिण अफ्रिकामा टी२० प्रतियोगिताको साथ प्रतिस्पर्धी क्रिकेटमा पुनरागमन गरे। अहिले उनी ईंग्ल्याण्डको तर्फबाट बंग्लादेशमा वनडे सीरीज खेलिरहेका छन्। बंग्लादेश विरुद्ध बुधवार खेलिएको पहिलो वनडे म्याचमा उनले १० ओभर बलिंग गरेर २ विकेट पनि हासिल गरे। बंग्लादेश विरुद्ध सीरीज समाप्त भएको तुरन्त पछि आर्चर आईपीएलको तयारी गर्न मुम्बई इण्डियन्सको शिविरमा सामेल हुनेछन्। पाँचपल्टका च्याम्पियन मुम्बई इण्डियन्सले आफ्नो पहिलो म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोरको चुनौती स्वीकार्नेछ। म्याच २ अप्रेलको दिन चिन्नास्वामी स्टेडियममा खेलिनेछ।