सिलगढी: सिलगढी बुद्धिष्ट एसोसिएशनले यहाँको गुरूङ बस्तीस्थित डोनाङ छोइखोरलिङ गुम्बामा ग्यासी पूजाको आयोजना गर्ने भएको छ। जसको तयारी पूर्ण रूपले शुरु भइसकेको सिलगढी बुद्धिष्ट एसोसिएशनका अध्यक्ष डीबी योञ्जनले जानकरी दिएका छन्। उनीअनुसार बौद्ध परम्पराअनुसार यसपटक बिरालो/ खरायो वर्ग लागेको छ। जसले गर्दा मानव जातिमा कुनै पनि किसिमको रोग कष्ट, ग्रह दशा वा कुनै पनि किसिमको अशान्ति आइनलागोस् भन्ने उद्देश्यले ग्यासी पूजा आयोजना गरिने भएको हो। गुम्बाका मुख्य पुजारी लोपन ढेण्डुपको विशेष उपस्थितिमा उक्त पूजा गरिने भएको अध्यक्ष योञ्जनले बताएका छन्। १९ मार्चको दिन गुरूङ बस्ती अवस्थित गुम्बा परिसरमा हुने उक्त पूजामा समस्त भक्तजन तथा गुम्बाका सदस्यहरूले भाग लिनसक्ने उनले बताएका छन्। पूजाको निम्ति गुम्बाले तयारी गरिरहेको जनाउँदै उनले भने, ‘गुम्बाले यसपटक धेरैवटा कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। यसपल्ट पनि हामीले ग्यासी पुजाको तयारी गरेका छौं। जसको निम्ति आम मानिसहरूले गुम्बामा आएर कुनै पनि समय जानकारी लिन सक्नेछन्।’ गुम्बा समितिका सदस्यहरू दैनिक गुम्बा परिसरमा नै हुने जनाउँदै सबैलाई उक्त कार्यको निम्ति अघि आइदिने आह्वान अध्यक्ष योञ्जले गरेका छन्।









