सिलगढी: डुवर्स नेपाली साहित्य सभाले हिजो पत्रकार सम्मेलन गरेर विशेष घोषणा गरेको छ। डुवर्स नेपाली साहित्य सभाले यसै वर्षदेखि स्व. इन्द्र बहादुर गुरुङ युवा साहित्य पुरस्कार साथै स्व. कृष्णभक्त खडका डुवर्स साहित्य पुरस्कार प्रदान गर्ने भएको छ। गत महिनामा डुनेसासको नयाँ कमिटीको कार्यकारिणी सभा बसेर आउँदो तीन वर्षको निम्ति गरिने कार्यहरुको सूची तयार पारेर यसै वर्षदेखि यी पुरस्कारहरु दिने निर्णय भए पश्चात् दुवै विधाको निम्ति जुरी अथवा निर्णायक मण्डली गठन गरी स्व.इन्द्र बहादुर गुरुङ युवा साहित्य पुरस्कारको निम्ति आयु सीमा चालीस राखिएको थियो भने विभिन्न युवा लेखक, कविहरु कृतिहरुको अध्ययन साथै सामाजिक साहित्यिक कार्यहरुमा योगदान, सक्रियताबारे पनि चर्चा गरियो भने स्व. कृष्णभक्त खडका डुवर्स साहित्य पुरस्कारचैँ कृतिहरुको अध्ययन साथै साहित्यिक योगदानको मुल्याङ्कण गरेर यो सम्मान प्रदान गरिने र निर्णायक मण्डलीका जुरीहरुले यो वर्षको निम्ति सम्मान गरिने व्यक्तिहरुको चयन गरिसकेको पनि घोषणा गरियो। यस वर्षको स्व. इन्द्र बहादुर गुरुङ युवा साहित्य पुरस्कार कालचिनीका युवा कवि साथै सृजनशील समूहका मूलसचिव चन्दन भट्टराईलाई प्रदान गरिने साथै स्व. कृष्णभक्त खडका डुवर्स साहित्य पुरस्कार हन्टापाडाका वरिष्ठ साहित्यकार कृष्ण योञ्जन गडबडेलाई ससम्मान प्रदान गरिने घोषणा गरियो। ज्ञात रहोस् डुवर्समा प्रथमपल्ट युवाहरुलाई मञ्च, प्रोत्साहनसहित युवा पुरस्कारको रुपमा यो सम्मान गरिन्दैछ भनि डुनेसासका मूलसचिव किरण उपाध्यायले जनाएका छन्। आजको यस घोषणा गर्ने क्रममा अध्यक्ष देवेन विश्वकर्माले साहित्यिक क्षेत्रमा डुवर्स अब धेरै अघि बढिसकेको छ र यसरी युवाहरुलाई अघि ल्याई सम्मान जनाउँदा डुनेसास गर्व बोध गर्दछ। यसरी नै डुनेसासका पुर्व अध्यक्ष दिलीप शर्मा घिमिरेले पनि आउँदो मार्च महिनाको अन्तिम साताभित्र यो कार्यक्रम गरिने बताए भने कार्यकारी अध्यक्ष उमेश प्रधानले यस दिन शान्ता प्रकाशनबाट छहवटा किताबको पनि विमोचन गरिने र सबैलाई निम्ताउने पनि जानकारी दिएका छन्।










