सिलगढी: पश्चिम बङ्गाल सरकारले ८२०७ स्कूलहरू बन्द गर्ने विचार गरिरहेको भन्दै सांसद राजु बिष्टले प्रेस विज्ञप्ति जारी गरेका छन्l त्यसमध्ये ५१९ स्कूल दार्जीलिङ जिल्लाका अनि २ स्कूल कालेबुङ जिल्लाका परेको उनको भनाइ छ। उनले भने, ‘यसका अतिरिक्त उत्तर बङ्गाल विश्वविद्यालयमा स्नातक परीक्षामा ७५ प्रतिशत भन्दा धेरै विद्यार्थीहरू अनुत्तीर्ण भएका खबरले टीएमसी सरकारअन्तर्गत पश्चिम बङ्गालमा अस्तव्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रतर्फ इङ्गित गर्दछl’ राज्यका मन्त्रीहरू र शिक्षा विभागका अधिकारीहरू शिक्षक भर्ती घोटालामा भ्रष्टाचारका मामिलाहरूमा जेल रहेको पनि उनले उल्लेख गरेका छन्।
उनले भने, ‘टीएमसी सरकारले पश्चिम बङ्गाललाई सबैभन्दा धेरै ६ लाख करोड़ रुपियाँभन्दा अधिक ऋणको मुनि थिच्चिएको राज्य बनाएको छ। सरकारी कर्मचारीहरूका महंगाई भत्ता (डीए), अनि शिक्षकहरूलाई समयमा वेतन दिन राज्य सरकार असक्षम भएको छ। ८२०७ स्कूलहरू बन्द गर्ने यो प्रस्तावको खबर यदि सत्य हो भने शिक्षकहरूको वेतनबाट केही पैसा बचाएर हाम्रा नानीहरूका भविष्यलाई भड़खालोमा हाल्ने टीएमसीको कुत्सित प्रयासबाहेक अरू केही होइनl’ ‘उच्च शिक्षाको क्षेत्रमा हाम्रा विश्वविद्यालयहरू एकवर्षभन्दा धेरै समयदेखि स्थायी उपकुलपतिको नियुक्ति बिना चलाइरहेका छन्। राज्यमा शिक्षक भर्ती घोटालामा टीएमसीद्वारा नियुक्त उपकुलपतिलाई सीबीआईद्वारा गिरफ्तार गरिएदेखि टीएमसीले उत्तर बङ्गाल विश्वविद्यालयमा स्थायी उपकुलपतिको नियुक्तिलाई स्थगित गर्न जारी राख्दै आएको छ। टीएमसीअन्तर्गत कलेजका प्रिन्सिपल समेत र उपकुलपतिहरू शैक्षणिक योग्यता वा प्रशासनिक अनुभवको आधारमा नभएर राजनीतिक आधारमा नियुक्त गरिन्छन्। कलेज र विश्वविद्यालयका प्राध्यापकहरूको नियुक्तिको मामिलामा पनि यस्तै भइरहेको छ। मेरो विचारमा कलेजका विद्यार्थीहरू परीक्षामा यस्तो व्यापक रूपले अनुत्तीर्ण हुनाको पछाड़ि यही मूल कारण हो किनकि उनीहरूको जग नै कमजोर बनाइएको छ’, उनले विज्ञप्तिमा यसरी भनेका छन्l








