सिलगढी: नक्सालबारी अन्तर्गत भैंसीहट्टी नेपाली प्राथमिक पाठशालामा भारतीय जनता युवा मोर्चाका एक टोलीले भैंसीहट्टीको निरीक्षण गरेका छन्। यस क्षेत्रमा एक मात्र नेपाली पाठशाला रहेको तर यो एकदमै जीर्णावस्थमा रहेको बताइएको छ। यस्तै अवस्थामा रहेर पनि यस पाठशालामा ६० देखि ७० जना विद्यार्थीहरु पठन-पाठन गर्ने पनि स्थानीयहरूले जनाएका छन्। पाठशालाको अवस्था एकदमै जीर्ण रहेको साथै सरकारको नजरबाट अहिलेसम्म ओझलमा परेको बताइएको छ। आज भाजपा युवा मोर्चाको टोलीले उक्त पाठशालाको भ्रमण गरी केही मात्रमा अर्थिक सहयोग पनि गरेका छन्। अबदेखि एक सालसम्म युवा मोर्चाको टोलीले उक्त पाठशालालाई हेरचाह गर्ने निर्णय पनि लिएका छन्। उक्त पाठशालालाई आधुनिकरण गर्नको निम्ति युवा मोर्चा टोलीले चाढै दार्जीलिङका भाजपा सांसद राजु विष्ट अनि नक्सालबारीका भाजपा विधायक अनन्दमय बर्मनलाई भेटेर यस विषयमा पनि कुरा राख्ने बताएका छन्।

आजको भ्रमणमा युवा मोर्चाको टोलीमा दार्जीलिङ जिल्ला अध्यक्ष निरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, सचिव सिद्धान्त अधिकारी, सुकना-पानीघट्टा मण्डल युवा मोर्चा अध्यक्ष अजय शर्मा, भाजपा पश्चिम बंगाल राज्य समिति सदस्य हरि निरौला, समाजसेवी बिक्रम गोले, बिटु सिंह, सतिश तामाङ आदि रहेका थिए भनी जानकारी प्राप्त भएको छ।