गान्तोकः पूर्वोत्तर क्षेत्रका लागि प्रधानमन्त्रीको विकास पहल योजनाअन्तर्गत नाम्ची जिल्लाको धापरदेखि भालेढुंगासम्म निर्मित घिर्लिङको आज केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले उद्घाटन गरिन्। केन्द्रिय मन्त्रीले यहाँको मनन केन्द्रबाट यसको भर्चुअल रूपमा उद्घाटन गरिन्। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, राज्यका मुख्य सचिव बीभी पाठक, वित्त मन्त्रालयका सचिवगण, राष्ट्रिय कृषि एवं ग्रामीण विकास ब्याङ्क (नाबार्ड)-का अध्यक्ष साजी केभी लगायत अन्यको उपस्थिति रहेको थियो।
जानकारी गराइन्छ, यस क्षेत्रको प्राकृतिक दृश्यसँगै परिपर्यटनलाई बढ़ावा दिने उद्देश्यले यस घिर्लिङको शुरु गरिएको हो। २०१६-देखि शुरु गरिएको यस घिर्लिङ परियोजनाको कार्य केही गरिएपछि पूरा हुनसकेको थिएन। पूर्वोत्तर क्षेत्रका लागि प्रधानमन्त्रीको विकास पहल योजनामार्फत यसको निर्माण कार्य पूरा भएपछि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले यस महत कार्यको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीसँगै केन्द्र सरकारप्रति आभार व्यक्त गरेका छन्। पूर्वोत्तर क्षेत्रका लागि प्रधानमन्त्रीको विकास पहल योजनाअन्तर्गत ग्याप फण्डिङको रूपमा रु. ५७.८२ करोड़सँगै यो परियोजना मोठ २०९.५७ करोड़ रुपियाँको लागतमा निर्माण गरिएको हो। यस घिर्लिङमार्फत भालेढुंगाको चुचुरोसम्म पुग्न सकिन्छ।
कार्यक्रममा वित्तमन्त्री निर्मला सीतारमणले राष्ट्रिय कृषि एवं ग्रामीण विकास ब्याङ्कका ९ योजनाहरूको निम्ति मोठ रु. ७.२४ करोड़ आवण्टन पत्र प्रदान गरिन्। योसँगै वित्तीय साक्षरताको निम्ति स्टेट ब्याङ्क अफ् इण्डियाको ६ वटा केन्द्रलाई २३४ रुपियाँ अनुदान प्रदान गरियो भने छुबा अफ् फार्म प्रोड्युशर्स अर्गनाइजेशनलाई रु. १२२ लाख अनुदान प्रदान गरियो। यसरी नै मंगनस्थित उङ्थुकचुम यार्गे स्प्रिङ सेड विकासको निम्ति ११५ लाख रुपियाँ अनुदान दिइयो भने जनजाति विकास कोषमार्फत सोपाखा पञ्चायतलाई अर्डिड फ्रूट विकासको निम्ति ९२.१६ लाख अनुदान प्रदान गरियो। सिक्किम राज्य सहकारी ब्याङ्कलाई प्राथमिक कृषि ऋण संघ बहु सेवा केन्द्र योजनाअन्तर्गत सहुलियतपूर्ण पुनर्वित्त रु. ४९.५ लाख प्रदान गरियो। यसअघि बिहान केन्द्रिय कृषि एवं ग्रामीण विकास ब्याङ्क (नाबार्ड)-द्वारा राखिएको स्टलहरूको केन्द्रिय वित्तमन्त्री सीतारमणले अवलोकन गरिन्। चिन्तन भवनको कार्यक्रम सकिएपछि आज बेलुकी मंगन जिल्लाको लाचेनको जुम्साका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिन्। भोलि उनले त्यहाँ एसबीआईको एटीएमको उद्घाटन गर्नेछन्।