राज्यपाल र शिक्षामन्त्रीबीच पटक–पटकको छलफलपछि उपकुलपति नियुक्तिको विषय निस्कियो समाधान

feature-image-begal-education.png

कोलकाता: पश्चिम बङ्गालका विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्ति र कार्यकाल विस्तारको विषय अन्ततः समाधान भएको छ। शिक्षामन्त्री र राज्यपालबीच राजभवनमा लगातार दुई दिनसम्मको बैठकपछि सबै गतिरोध समाधान भएको बताइएको छ। शिक्षा मन्त्री ब्रात्य बसु र राज्यपाल डा सीभी आनन्द बोसले सोमबार साँझ राजभवनमा भेट गरेका थिए। त्यसपछि मंगलबार फेरि दुवैजना बसेर विचारविमर्श गरे। त्यसपछि संयुक्त पत्रकार सम्मेलनमा राज्यपाल डा सीभी आनन्द बोस र बसुले उपकुलपति नियुक्तिको समस्या समाधान भएको बताए। मंगलबारको बैठकमा ६ वटा विश्वविद्यालयका उपकुलपतिले राज्यपाल डा. आनन्द बोसलाई कुलपति पदबाट राजीनामा बुझाएको बताइएको छ। राज्यपालले उनीहरुको राजीनामा स्वीकृत गरेका छन् र उनीहरु सबैलाई तीन महिनाको म्याद थप गरिएको छ। सो क्रममा यी सबै विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिका लागि आएका निवेदनलाई अध्ययन गरी उपयुक्त निर्णय गर्ने खोज समिति गठन गर्ने सहमति भएको छ।
यसबाहेक अन्य धेरै उपकुलपतिको कार्यकाल सकिएको छ। उनी मंगलबारको बैठकमा उपस्थित हुन सकेनन्। उनले बुधबार राज्यपालसमक्ष राजीनामा बुझाउने छन्। उनीहरुको कामलाई पनि विस्तार गरिनेछ। शिक्षामन्त्रीले भने, ‘मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा म राजभवनमा आएर राज्यपालसँग यी विषयमा छलफल गरेँ, त्यसपछि समाधान निकालिएको हो।’ राज्यपाल डा. बोसले राज्यपाल र राजभवन बीचको हालैको विवादको बारेमा पनि महत्त्वपूर्ण टिप्पणी गरे। उनले भने, ‘शिक्षाको क्षेत्रमा कुनै द्वन्द्व छैन। शिक्षा, संस्कृतिका लागि बङ्गाल प्रख्यात छ, यो उपलब्धिलाई हामी सबैले कायम राख्नुपर्छ। एक आपसमा समन्वय गरी शिक्षाको प्रगतिलाई कायम राख्ने प्रयास गर्नुपर्छ। प्रधानमन्त्री मोदी आत्मनिर्भर भारतको कुरा गर्छन्, त्यसैले त्यो लक्ष्य हासिल गर्न शिक्षाको क्षेत्रमा प्रगति धेरै महत्त्वपूर्ण छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement