गान्तोक: जैविक खेतीमाथि पद्मश्री पुरस्कारको निम्ति छनौट भइसकेका वयोवृद्ध कृषक तुलाराम उप्रेतीलाई आज पूर्व विधायक महासंघ सिक्किमका प्रतिनिधिहरूले सम्बर्द्धना जनायो। महासंघका अध्यक्ष डी. बी. ठटालको अगुवाईमा रहेको प्रतिनिधि टोलीले उनलाई सम्बर्द्धना जनाउँदै प्रशस्ति पत्र प्रदान गऱ्यो। जानकारी गराइन्छ, पाकिम जिल्लाअन्तर्गत असम लिङ्से निवासी तुलाराम उप्रेती राज्यका पूर्व मन्त्री के.एन. उप्रेतीका पिता हुन्। उनी भारत सरकारद्वारा प्रदान गरिने चौथो सर्वोच्च नागरिक सम्मानको निम्ति छनौट भइसकेका छन्। जैविक खेतीको निम्ति उनलाई प्रदान गरिएको यो सम्मान उनले देशका राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीबाट चाँड़ै ग्रहण गर्नेछन्। जैविक राज्य सिक्किमबाट जैविक खेतीमा एकजना कृषकले देशको चौथो सर्वोच्च नागरिक सम्मान प्राप्त गर्नु सिक्किम अनि सिक्किमेली जनसमुदायको निम्ति गर्वको कुरा रहेको पूर्व विधायक महासंघले बताएको छ। यो उपलब्धि राज्यको निम्ति महान रहेको उल्लेख गर्दै महासंघले पद्मश्री पुरस्कारको निम्ति छनौट भएका वयोवृद्ध कृषक तुलाराम उप्रेतीप्रति बधाई एवं शुभकामना व्यक्त गरेको छ। उनी सम्पूर्ण सिक्किमेली जनसमुदायका आदरणीय पिता रहेको महासंघले उल्लेख गरेको छ। संगठनले उनको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेको छ।









