दार्जिलिङ: लोकसभा स्पिकर ओम बिरला आज बिहान दार्जीलिङ आइपुगे। उनी सिक्रिम भ्रमणपछि हिज खरसाङको ताज चिया कुटीरमा बसेका थिए। त्यहाँबाट उनी सोझै दार्जीलिङ आएका हुन्। दार्जीलिङको राज भवनमा बिरलालाई भाजपा, गोरामुमो, क्रामाकपा अनि अन्य राजनीतिक दलका नेतृत्व र सदस्याहरूका साथै जनसाधरणले पनि खदा-मालासहित पुष्प वर्षा गरी स्वागत जनाएका थिए। लोक सभा स्पिकर ओम बिरलाले आज दार्जिलिङको हिमालयन माउण्टेनेरिङ इन्स्टीट्युटको भ्रमण गरेका छन्। उनले दार्जिलिङ हिमालयन माउण्टेनेरिङ इन्स्टीट्युटको निक्कै प्रशंसा गरेका छन्। उनले भने, यो इन्स्टीट्युटले विद्यार्थीहरूलाई ट्रेनिङ मात्र गराउँदैन तर यो इन्स्टिट्युट विभिन्न उध्दार कार्य र कार्वाहीमा पनि बेस्ट रहेको बताएका छन्।

लोक सभा स्पिकर एम बिरलाले एचएमआईको प्राचार्य जय किसानको पनि प्रशंसा गरेका छन्। एचएमआईमा उनले प्रथम सागरमाथा विजेता तेञ्जिङ नोर्गे अनि पर्वतारोहणको बारेमा जानकारी लिए। उनले तेञ्जिङ नोर्गेको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण पनि गरेका थिए।

यस अवसरमा उनले आफ्नो छोटो वक्तव्यमा दार्जीलिङको मुग्ध कण्ठले प्रशंसा गरे। बिरलाको साथमा दार्जिलिङका भाजपा सांसद राजु विष्ट अनि अन्य उच्च अधिकारीहरू सामेल थिए।









