सोरेङः मुख्यमन्त्री पीएस गोलेले जनताको पक्षमा अब कडाइका साथ काम गर्ने बताएका छन्। विषेश गरेर सरकारी विभागहरू र कतिपय विभागीय कर्मचारीबाट जनपक्षीय कार्यमा भनेजस्तो सहयोग नमिलिरहेको उल्लेख गर्दै आफ्नो नरमपनलाई त्यागेर अब जनपक्षीय कार्यमा कठोरता अप्नाउने बताएका छन्। आइतवार सोरेङको पक्किगाउँ सरकारी माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती समारोह समापन कार्यक्रमलाई मुख्यमन्त्री गोलेले सम्बोधन गर्दै जनपक्षीय कार्यमा सहयोग नदिने कर्मचारीहरूप्रति रोष व्यक्त गरे। यसका साथै उनले आजको कार्यक्रममा उपस्थित नहुने सोरेङ जिल्लाका विभागीय शीर्ष अधिकारीको खै गर्दै कार्यक्रममा उपस्थिति नदिने जिल्ला प्रशासनको अधिकारीको सूची आफूलाई दिन मुख्यमन्त्रीले सम्बन्धित पक्षलाई निर्देश दिएका छन्। जानकारी गराइन्छ, मुख्यमन्त्री गोले पक्किगाउँ स्कूलको कौस्तुभ जयन्ती समापन समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। मुख्यमन्त्री पीएस गोलेले सम्बोधन गर्ने क्रममा पक्किगाउँ स्कुलले ७५औं वर्षगाठ पूरा गरेकोमा स्कूल परिवार र स्थानीय नागरिकहरूलाई बधाई एवं शुभकामना व्यक्त गरे। पक्किगाउँ स्कूलले सक्षम मानव संसाधन तयार पारेर राज्यको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए।
मुख्यमन्त्रीले शिक्षा व्यवस्थामाथि बोल्दै भने, एसकेएम पार्टी २०१९-मा सरकारमा आउँदा सिक्किमको ९० प्रतिशत सिनियर सेकेन्डरी स्कूलमा प्राचार्य नै थिएन। प्राइमरी, निम्नमाध्यमिक र माध्यमिक विद्यालय धेरै ठाउँमा स्कूल प्रमुख थिएन। बजारको स्कूलमा मात्र शिक्षक-शिक्षिकाहरू थुप्रिन्थ्यो। गाउँका स्कूलहरु खुल्ला थियो। सिक्किमको कलेजहरु लथालिङ्ग थियो। तर एसकेएम पार्टी सरकारमा आएपछि स्कूलमा शिक्षक-शिक्षिका पूरा पठाएका छौँ। उनले अझ भने, सरकारले पोलिसी बनाएर ८ वर्ष पूरा गरेका अस्थायी शिक्षक-शिक्षिकालाई स्थायी गर्ने काम गरेको छ। अब संस्कृत भाषालाई प्रथम श्रेणीबाट नै स्कूलमा पढाइने छ। मुख्यमन्त्री मेधावि छात्रवृत्तिलाई बिस्तार गरेर अब १२ श्रेणीदेखि कलेजसम्म उक्त छात्रवृत्ति प्रदान गरिने उनले बताए। अर्कोतिर मुख्यमन्त्रीले युक्रेन युद्धमा कारण शिक्षामा प्रभाव परेका सिक्किमे विद्यार्थीहरूलाई पाँच लाख रुपियाँ सहयोग राशि सरकारको तर्फबाट प्रदान गरिने बताए। पहिलो किस्तामा तीन लाख रुपियाँ र फेरि शिक्षार्जनको लागि यूक्रेन पुगेर रिपोर्ट गर्ने विद्यार्थीहरूलाई दोस्रो किस्ता दुई लाख रुपियाँ प्रदान गरिने उनले बताए। सरकारले यूपीएससी-को तयारीको निम्ति कोचिङ गरिरहेका विद्यार्थीहरुलाई पनि सहायता गरिरहेको बताउँदै मुख्यमन्त्रीले शिक्षा विद्यार्थीहरू लागि पासपोर्ट हो भने।
मुख्यमन्त्रीले आउँदो ३ मार्चको दिन आमा सशक्तीकरण योजना अन्तर्गत १६ हजार आमाहरुलाई २० हजार रुपियाँको दरले वितरण गरिने अनि उक्त योजनामा पर्ने आमाहरूलाई प्रत्येक वर्ष नै २० हजार रुपियाँ प्रदान गरिने बताए। आमा योजना अन्तर्गत दिपावलीभन्दा अघि प्रति निर्वाचन एक हजार जना महिलालाई लाभान्वित गरिने उनले बताए। यसरी नै सिक्किम गरीब आवास योजना अन्तर्गत ११ हजार गरीबको घर निर्माण गरिने मुख्यमन्त्रीले बताउँदै गरीब जनताको पालैपालो घर निमार्ण गरिदिने उनले बताए। तर यी सबै योजनाहरूको लागि वार्डबाट गरीबभन्दा गरीब लाभार्थीहरूको नाम छनौट गर्नुपर्ने मुख्यमन्त्रीले आग्रह गरे। उनले आगामी बजेट सम्बन्धमा बोल्दै १३ मार्चमा सम्म प्रत्येक निर्वाचन क्षेत्र भ्रमण गरेर जनताको माग अनुसार आम बजेट तयार गरिने पनि बताए। यहाँ पक्किगाउँ स्कूलमा आयोजित ६ दिवसीय कौस्तुभ जयन्तीको समापन कार्यक्रममा मुख्यमन्त्री पीएस गोले अतिरिक्त शिक्षा मन्त्री केएन लेप्चा, मन्त्री एमएन शेर्पा, विधायकद्वय केएस लेप्चा र सुनिता गजमेर, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, विभिन्न विभाग र बोर्डका सल्लाहकार र अध्यक्षगण, शिक्षक-शिक्षिका, आमनागरिक र विद्यार्थीहरुको उत्साहजनक उपस्थिति थियो।
आज मुख्यमन्त्री गोलेले पक्किगाउँ स्कूलमा “कौस्तुभ स्तम्भ”-को लोकार्पण गरे। यसका साथै मुख्यमन्त्रीले कौस्तुभ जयन्तीलाई केन्द्र गर्दै पक्किगाउँ स्कूल तयार गरिएको पुस्तक “स्मरण”-को पनि उनले विमोचन गरे। कार्यक्रममा कौस्तुभ जयन्ती समारोह समिति पक्किगाउँ स्कूलले मुख्यमन्त्री पीएस गोले, शिक्षा विभागका प्रधान मुख्य अभियान्ता एबी सुब्बा, सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल र पक्किगाउँ स्कुलका जमीन दाता स्व. विष्णुलाल लिम्बुका परिवार र स्कुलको खेलमैदानको लागि भूमिदान गर्ने टकसारी परिवार च्याखुङलाई अभिनन्दन जनायो। कौस्तुभ जयन्तीको मुख्य आकर्षक हिल्स ओपन भलिबल टुर्नामेन्टमा दरमदिन भलिबल क्लबले साजबोटे दार्जिलिङलाई लगातार सेटमा पराजित गरि टुर्नामेन्टको च्याम्पियन बने। विजेता टिमलाई नगद राशि दुई लाख रुपियाँ र उपविजेता टिमलाई एक लाख पचास हजार रुपियाँसहित ट्रफी प्रदान गरियो। दुवै दललाई मुख्यमन्त्रीले सरकारको तर्फबाट एक-एक लाख रुपियाँ थपिदिएर खेलाडीहरू प्रोत्साहित गरे।









