कालचिनीः डुवर्स तामाङ बौद्ध संघको तत्वावधान अनि जयगाउँ शाखाको आयोजनामा आज जयगाउँ गोपईमोहन मैदानमा डुवर्सव्यापी सोनम ल्होछार समापन समारोह सम्पन्न भयो। समारोहको उद्घाटन राष्ट्रिय तिरंगा झण्डा साथै संघ र धर्मचक्रको झण्डा उत्तोलन क्रमैले महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडो, आयोजक कमिटीको सभापति विष्णु लामा र अखिल भारतीय तामाङ बौद्ध संघको अध्यक्ष डा.राम तामाङको बाहुलीबाट गरीएको थियो भने चौथो डुवर्सव्यापी सोनम ल्होछार समारोहको मञ्च स्व. शंकर लाल बलको नाममा समर्पित गर्दै तिनको प्रतिकृतिमा धुपदीप प्रज्वलन साथै दुई मिनटको मौन धारण पालन गरिएको थियो।
मञ्चमा धर्मगुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडो लगायत मुख्य अतिथि अखिल भारतीय तामाङ बौद्ध संघको अध्यक्ष डा. राम तामाङ, अन्तर्राष्ट्रीय तामाङ परिषदको अध्यक्ष केएम तामाङ आयोजक कमिटीको सभापति विष्णु लामा एवम् संघको केन्द्रिय सदस्यहरूलाई खदा पहिराएर स्वागत जनाएको थियो। कार्यक्रममा स्वागत गीत कफेरबाट आएका डम्फुरे टोलीले सुन्दर डम्फु गीत प्रस्तुत गरेको थियो भने स्वागत वक्तव्य आयोजक कमिटीको पक्षबाट सचिव वाङ्ग्येल लामाले राखेको थियो।
यस क्रममा कार्यक्रममा जयगाउँ लगायत विभिन्न ठाउँहरूबाट आएका तामाङ नृत्य कलाकारहरूले आ-आफ्नो प्रस्तुति दिएको थियो। यसरी नै अन्तर्राष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तामाङ लगायत अखिल भारतीय तामाङ बौद्ध संघको महासचिव एमके योञ्जनले ल्होछार र संगठनको बारेमा वक्तव्य प्रस्तुत गरेको थियो। कार्यक्रमबीच स्थानीय रुपमा मिस तामाङ र मिस्टर तामाङ प्रतियोगिताको पनि आयोजना गरीएको थियो भने सो प्रतियोगितामा मिस तामाङको पुरस्कार सरस्वती लामा र मिस्टर तामाङको पुरस्कार सुरज तामाङले जित्न सफल भएको थियो। कार्यक्रममा डुवर्स तामाङ बौद्ध संघको पक्षबाट प्रतिष्ठित तामाङ समाजसेवी अनि व्यक्तित्वहरूलाई सम्वर्द्धना प्रदान गरीएको थियो। साँझ समयलाई मध्यनजर गर्दै औ माध्यमिक परीक्षालाई ध्यानमा राखेर नेपाल र दार्जीलिङबाट आएका तामाङ कलाकारहरूले रमाईलो गीत अनि नृत्य प्रस्तुत गरेको थियो।









