खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको बीस माइलस्थित स्मृति वनमा मौरी पालन विषयमा दुई दिवसीय प्रशिक्षण शिविर अाजदेखि शुरु भएको छ। आईभीवाई मल्टिपरपोस को-ओपरेटिभ सोसाईटी तीनधारे र पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग बोर्डको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भईहेको छ। आज सम्पन्न पहिलो दिनको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रूपमा खरसाङका पीडी लामा उपस्थित थिए। उक्त प्रशिक्षण शिविरमा उनले मौरी पालन आधुनिक परिपाटीमा कसरी गर्न सकिन्छ भन्ने विषयमा उपस्थितहरूलाई जानकारी गराएका थिए। उक्त मौरी पालन प्रशिक्षण शिविरमा खरसाङ, गिध्द पहाड़, महानदी, घुम्ती, जंगपाना, सिविटार, घैयाबारी, जोगमाया, तीनधारे, चुनभट्टी, सिपाहीधुरा लगायत अन्य स्थानहरूबाट पनि मानिसहरू उपस्थित रहेका थिए। मौरी पालन विषयमा अब भोलि हुने प्राक्टिकल कार्यक्रममा प्रशिक्षकको रूपमा सामसिङ निवासी आशा कुमार राई उपस्थित भएका छन्। सिल्भेष्टर लेप्चाले सञ्चालन गरेको कार्यक्रममा उक्त मौरी पालन प्रशिक्षण शिविरमा पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग विकास बोर्डको फिल्ड अफिसर स्वप्नदीप थापा उपस्थित थिए भने आईभीवाई मल्टीरपोस को-ओपरेटिभ सोसाइटी तीनधारेको सल्लाहकार प्राध्यापक प्रज्वल प्रधान, संस्थापक स्वप्नदीप थापा, सचिव मोहित राणा, कोषाध्यक्षा सलोमी प्रधान, बोर्ड अफ् डाईरेक्टर ज्योति भट्टराई लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै कार्यक्रममा प्राध्यापक प्रज्वल प्रधानले मल्टीपरपोस सोसाईटी विषयमा जानकारी गराएका थिए। आजको पहिलो दिनको मौरी पालन प्रशिक्षण शिविर विषयमा पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग बोर्डको फिल्ड अफिसर स्वप्नदीप थापाले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे र यसको वरिपरिका क्षेत्रहरूलाई लिएर मौरी पालन प्रशिक्षण शिविर आयोजना गरिनुको मुख्य उद्देश्य परम्परागत मौरी पालनबाट आधुनिक परिपाटीमा मौरी पालन गरेर मानिसहरूका अाय स्रोत बढ़ाउनु र स्वनिर्भर बनाउनलाई हो भनी बताएका छन्। उनले मौरी पालनबाट मह उत्पादन गरेर महको आफ्नै ब्राण्ड बनाउन सकिने बताउँदै यो शिविर दुई दिवसीय रूपमा गरिएको र आज थ्यौरी अनि भोलि प्याक्टिकल गरिने पनि बताएका छन्। त्यसरी नै मौरी पालन प्रशिक्षण शिविर विषयमा सोसाईटीको सल्लाहकार प्राध्यापक प्रज्वल प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै यो मल्टीपरपोस सोसाइटी १९ नोभेम्बर २०२२ मा ५२ जना सदस्य-सदस्याबरूलाइ लिएर गठन गरिएको र यसले प्रथममा च्याऊ खेती विषयमा अनि पोल्ट्री विषयमा पनि प्रशिक्षण गराई सकेको र यसपाली मौरी पालन प्रशिक्षण आयोजना गरेको जसमा पश्चिम बंगाल खादी अनि ग्रामीण उद्योग बोर्डलो पनि सहयोग गरेको बताएका छन्।









