गान्तोक: केन्द्रीय वित्त एवं कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमण २७ फरवरीदेखि २ मार्चसम्म सिक्किमको चार दिने भ्रमणमा आउनेछिन्। २७ फरवरीमा वित्तमन्त्रीले गान्तोकको चिन्तन भवनमा बजेट पश्चात् बजेट अन्तरक्रियात्मक सत्रमा भाग लिने कार्यक्रम रहेको छ, जहाँ उनले केन्द्रीय बजेट २०२३-२४ का प्रमुख विशेषताहरूमाथि आफ्नो मुख्य भाषण दिनेछिन्l त्यसपछि सिक्किमको व्यापार तथा उद्योग क्षेत्रसित आबद्ध सिक्किम च्याम्बर अफ् कमर्स, कर पेशाकर्मी, कर्पोरेट, विभिन्न सङ्घ, उद्यमी क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नेछिन्। कार्यक्रममा सीजीएसटी, आयकर, ब्याङ्किङ क्षेत्र र सिक्किम सरकारका अन्य विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थित हुनेछन्।
वित्तमन्त्रीको भ्रमणको क्रममा अन्य कार्यक्रमहरूमध्ये केन्द्रीय बजेटमा सिक्किम विश्वविद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया, विभिन्न लाभार्थीहरूलाई चेक वितरणसहित नाबार्डका विभिन्न कार्यक्रमहरूको शुरुआत, लाचेन जुम्सा, मङ्गनका मानिसहरूसित अन्तरक्रिया, नागरकट्टा भू-भन्सार स्टेशन र पानीट्याङ्की एलसीएसबाट कुलकुली भू-भन्सार स्टेशनको ईडीआई प्रणालीद्वारा भर्चुअल उद्घाटन प्रमुख रहेका छन्। -पीआईबी










