(पर्यावरणीय कविता)    गँड्यौलो                           

00-1-Poetry

टलक्क टल्किन्छु

अँध्यारोमा

लचिलो छु

कोमल छु

मौन सदा 

तर

मायालु छु

अलिकतिमै सन्तुष्ट हुन्छु

धेर केही खान्न 

सुकेका‌ र सडेका पातले नै

अघाउँछु

त्यसैले माटो मलिलो पार्छु

कृषकको परम मित्र भनिन्छु

तर 

गिँडिन्छु 

फरुवाको प्रहारमा 

फालीको धारिलो‌ चिराइमा

मौन भइसहन्छु सधैँ

मित्रनै‌ बनि रहन्छु

र पनि! 

हिल्याएका गरामा

धेरै रमाउँछु

घामको तेज उत्तापमा 

आफ्नो ज्यानै गुमाउँछु

तर पनि

मित्रको भलो नै चिताउँछु

माटो खाएर माटै‌ निकाल्छु

अक्सिजनको मात्रा बढाउँछु

बिरुवाहरूको फेद

कमलो पार्दछु

बल्छीमा उनिन्छु

चारो बनिन्छु

र पनि म

मित्र नै बनिरहन्छु 

आजको रसायनिक हावाले

किटनासकको प्रहारले

मेरो कमलो शरीर

छ्यान्द्रा छ्यान्द्रा पारेको छ

निसास्सिएको‌ छु

छट्पटाएको छु

तड्पिएको छु

आफ्नै मित्रले

शत्रुता गरेको देखेर

हाहाकार मच्चिएको छ

अन्तरात्मामा 

सहँदा सहँदै 

सहिद हुने

तघारोमा छु म।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement