गान्तोक: सिक्किम प्रदेश भाजपाको एउटा महत्वपूर्ण समन्वय सभा आज सिङ्तामस्थित पार्टी कार्यालयमा अध्यक्ष डीआर थापाको अध्यक्षतामा सम्पन्न भयो। सभामा उपाध्यक्ष वाईटी लेप्चा, अर्जुन राई, महासचिव भरत दुलाल, सुदीप प्रधानलगायत विभिन्न मोर्चा प्रमुख, प्रदेश कार्यसमिति सदस्य, जिल्ला तथा मण्डल समितिका अध्यक्ष एवं महासचिवहरूको उपस्थिति रहेको थियो। आजको सभाको मूल उद्देश्य पार्टीको संगठनलाई अघि लैजान विभिन्न स्तरबाट पदाधिकारीहरूको प्रतिक्रिया एवं सुझाउहरू लिनु रहेको थियो। बैठकको प्रथम चरणमा राज्यभरिबाट उपस्थित विभिन्न मण्डल अध्यक्षगण, जिल्ला अध्यक्षगण अनि मोर्चा प्रमुखहरूले पार्टी अध्यक्षसमक्ष आ-आफ्ना बहुमूल्य सुझाउ, आ-आफ्नो क्षेत्रमा संगठनको वर्तमान स्थितिलगायत पार्टी कार्यकर्ताहरूले सामना गर्नुपरेका विविध चुनौति र समस्याहरूबारे स्पष्ट विचार राखे। यस क्रममा पदाधिकारीहरूले हाल राज्यका विभिन्न ठाउँहरूमा भइरहेका राजनीतिक हिंसाबारे पनि पार्टी अध्यक्षको ध्यानाकर्षण गराउँदै यस्ता घटनाहरूले भाजपा कार्यकर्ता साथै आम जनतामा पनि असुरक्षाको भावना पैदा भइरहेको बताए। सबै पदाधिकारीहरूको प्रतिक्रिया साथै सुझाउहरू विस्तारपूर्वक सुनेपछि ती विषयहरूलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले चाँड़ै नै पार्टीको सदस्यता अभियान एवं संगठन विस्तारको कार्यक्रम लिएर राज्यव्यापी जनसम्पर्क अभियान शुरू गरिने बताए। उपस्थित सबै स्तरका पदाधिकारीहरूलाई पनि आ-आफ्नो स्तरबाट सांगठनिक विस्तारको निम्ति तयारी शुरू गर्न आह्वान गर्दै कार्यकर्ताहरूलाई आइपर्ने समस्या तथा सहयोगको निम्ति पार्टी सदैव तयार रहेको बताए। आज सिक्किम र सिक्किमे जनताको अस्तित्व रक्षा साथै राज्यको सर्वाङ्गीण विकास गर्ने क्षमता केवल भारतीय जनता पार्टीमा मात्र रहेको बताउँदैअध्यक्ष थापाले हालैको सर्वोच्च न्यायालयको फसेलामाथि भएको विवादपछि यसको समाधानको निम्ति केन्द्रको भाजपा सरकारले गरेको ऐतिहासिक एवं चुड़ान्त पहलको उदाहरण दिए। यसै गरी केन्द्र सरकारले आम मानिसहरूको निम्ति शुरू गरेका कैयौं कल्याणकारी योजनाहरूको उदाहरण दिँदै भाजपा कार्यकर्ताहरूले जनताको मन जित्न झुटो आश्वासनहरू दिनुपर्ने कुनै आवश्यकता नरहेको बताए।यसै गरी हाल राज्यका विभिन्न ठाउँहरूमा भइरहेको राजनैतिक हिंसाका घटनाहरूबारे कार्यकर्ताहरूले गरेको शिकायतहरूमाथि बोल्दै अध्यक्ष थापाले यसको घोर भर्त्सना जनाए। अहिले सिक्किममा मास्क लगाएका अज्ञात व्यक्तिहरूले सिक्किमे छोरा-छोरीहरूमाथि आक्रमण गरिरहेको घटनाहरूलाई लिएर प्रशासनले गम्भीरतापूर्वक लिएर ती अपराधीहरूलाई खोजी निकाल्नुपर्ने बताए। भाजपा अहिंसा र अनुशासनमा विश्वास गर्ने दल रहेको बताउँदै कुनै पनि सिक्किमे छोरा-छोरीहरूमाथि यस प्रकारको हमलालाई सहन नगर्ने बताए। उनले भाजपा कार्यकर्ताहरूलाई पूर्ण भरोसा दिलाउँदै यदि कुनै भाजपा कार्यकर्ताहरूमाथि यस प्रकारको आक्रमण भए पार्टी उनीहरूको पक्षमा पर्खाल बनेर उभिने बताए। सभाको अन्तमा केही नयाँ सदस्यहरूलाई पनि पार्टीमा स्वागत जनाइयो। पार्टी अध्यक्ष एवं उपस्थित पदाधिकारीहरूले उनीहरूलाई खदा लगाएर स्वागत जनाए।