सिक्किममा प्रथमपल्ट राष्ट्रियस्तरको आर्चेरी प्रतियोगिता शुरू

IMG-20230225-WA0270.jpg

गान्तोक: सिक्किममा प्रथमपल्ट नेशनल ऱ्याङ्किङको निम्ति आर्चरी प्रतियोगिता आजदेखि आरम्भ भएको छ। आजदेखि शुरु भएको प्रतियोगिता आगामी ५ मार्चमा समापन हुनेछ। आज आरम्भ कार्यक्रममा राज्यका खेलकुद तथा युवा मामिला विभागीय मन्त्री एवं आर्चरी एसोसिएशन अफ् सिक्किमका अध्यक्ष कुङ्गा निमा लेप्चा मुख्य अतिथिको रुपमा उपस्थित थिए भने लोकसभा सांसद इन्द्रहाङ सुब्बा, आर्चरी एसोसिएशन अफ् इण्डियाका महासचिव प्रमोद चन्दुरकर अनि ओलम्पिक एसोसिएशन अफ् सिक्किका अध्यक्ष कुबेर भण्डारी विशिष्ठ अतिथिकोरुपमा उपस्थित थिए। सिक्किम राज्यमा प्रथमपल्ट भइरहेको नेशनल ऱ्याङ्किङमा सहभागी बन्न आएका सबै प्रतियोगीहरूलाई मन्त्री लेप्चाले स्वागत जनाउँदै शुभकामना दिए। यो प्रतियोगिता चार भागमा सम्पन्न हुनेछ, जुनियर, सब जुनियर, सिनियर अनि महिलावर्गका देशकै सर्वोत्कृष्ट १६-१६ आर्चरहरूले ऱ्याङकिङको निम्ति प्रतिस्पर्धा गरिरहेका छन्।

यस प्रतियोगिताबारे बोल्दै आर्चरी एसोसिएशन अफ् इण्डियाका महासचिव प्रमोद चन्दुरकरले सिक्किममा आर्चरहरूको निम्ति अनुकुल मौसम रहेको बताए। यहाँको मौसममा खेलेपछि पश्चिमी देशमा खेलाड़ीहरूलाई खेल्न धेरै सहज हुने उनले जनाए। यसरी प्रतियोगिताको आयोजनको निम्ति सुव्यस्थित मैदान उपलब्ध गराएकोमा उनले सिक्किम सरकारप्रति आभार व्यक्त गरे। आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिताहरूको आयोजन सिक्किममा पनि गरिने उनले घोषणा गरे। राष्ट्रियस्तरको प्रतियोगिता सिक्किममा आयोजन गर्न सौभाग्य प्राप्त भएकोमा आर्चरी एसोसिएशन अफ् सिक्किमले हर्ष प्रकट गरेका छन्। यस प्रतियोगिताको आयोजनाले सिक्किमका आर्चरहरूलाई धेरै हौसला मिल्ने पनि एसोसिएशनका पदाधिकारीहरूले विचार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement