रायपुर: छत्तीसगढको राजधानी रायपुरमा चलिरहेको कांग्रेसको ८५औं अधिवेशनमा पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धीले राजनीतिबाट सन्यास लिने संकेत दिइन्। सोनियाले शनिबार आफ्नो सम्बोधनमा भनिन्, ‘भारत जोडो यात्रासँगै मेरो राजनीतिक पारी अब अन्तिम बिन्दुमा पुगेको छl’ सोनिया गान्धीले पहिलो पटक पार्टी अध्यक्षको पदभार ग्रहण गरेपछिको उतारचढावबारे कुरा गरिन्। उनले भनिन्, ‘१९९८ मा पहिलोपटक पार्टी अध्यक्ष हुँदा आजसम्म अर्थात् २५ वर्षमा धेरै राम्रा–नराम्रा अनुभवहरु रह्यो। २००४ र २००९ मा पार्टीको प्रदर्शन होस् वा मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउने मेरो निर्णय होस्, यो मेरो लागि व्यक्तिगत रूपमा सन्तोषजनक थियो। यसका लागि पार्टी कार्यकर्ताको पूर्ण सहयोग पाएको छु। मलाई सबैभन्दा सन्तुष्टिको कुरा के हो भने मेरो इनिङ्स अब भारत जोडो यात्रासँगै समाप्त हुनसक्छ। यो पार्टीका लागि टर्निङ प्वाइन्ट होl’