मिरिक: पहाडमा पर्जापट्टा वितरण अहिले मुख्य राजनैतिक विषय भएको छ। जीटीए सभाका विपक्षी दल हाम्रो पार्टीले वितरण भइरहेको पट्टाको विरोध गरिरहेको छ। यसैबीच दार्जीलिङ जिल्लाका भाजपा अध्यक्ष कल्याण देवनले पनि यसको विरोध गरेका छन्l भाजपाको यो कदमलाई स्वागत गर्दै हाम्रो पार्टी मिरिकका अध्यक्ष प्रशान्त लामाले भाजपालाई पहाडका जनताले गोर्खाल्याण्ड गठन गर्नको निम्ति विजय गराएको सत्यलाई स्मरण गरेका छन्। पहाडबाट लगातार तीनपल्ट भाजपाको सांसद बनाएर संसदमा पठाउँदा पनि भाजपाले हालसम्म वरको सिन्का परसम्म सार्न नसकेको उनको भनाइ छ।
प्रशान्त लामाले भने, ‘केन्द्र सरकार अनि सांसदलाई गोर्खाल्याण्ड गठनको निम्ति उचित दवाब सृजना गर्ने दायित्व यहाँका भाजपा नेताहरुको बढी होl तर यस दायित्वबाट भाजपा नेताहरु भाग्न खोजिरहेको भान भइरहेको छ। भाजपा जिल्ला अध्यक्ष कल्याण देवानहरुको जिम्मेवारी भनेको केन्द्रीय भाजपा नेताहरुलाई गोर्खाल्याण्ड गठनको निम्ति उपयुक्त परामर्शसहित सकारात्मक दवाब दिनु होl’ ‘पर्जापट्टाको विरुद्ध भाजपाले बोले त्यसको स्वागत गर्छु, तर यस्तोमा हाम्रो मुल मुद्दा ओझेल भने पर्नु भएन’, उनले भने। गोर्खाल्याण्ड प्राप्तिको निम्ति संघर्षरत पहाडवासीलाई सपना देखाएर अझसम्म कुनै पदक्षेप नलिने भाजपा शंकाको घेरामा रहेको उनको भनाइ छl









