गत १९ फरवरीको दिन इन्द्रेनी प्रकाशन, असमद्वारा सातवटा पुस्तकको लोकार्पण गरियो। ती चारवटा समालोचना पुस्तक र तीनवटा कविता पुस्तकको संक्षिप्त परिचय यहाँ प्रस्तुत गरियो।
समालोचना कृति:
१. असमेली नेपाली समालोचना(खण्ड -१)
सम्पादक : रुद्र बराल, कृष्णनील कार्की
सहयोगी सम्पादक : ढाकाराम काफ्ले
प्रकाशक : इन्द्रेनी प्रकाशन, असम
मोल : ४००.०० रुपियाँ

इन्द्रेनी प्रकाशन, असमले प्रकाश गरेको प्रस्तुत पुस्तक समालोचना विधाको एक उल्लेखयोग्य कृति हो। सुन्दर आवरण पृष्ठले सजिएको यस पुस्तकमा असममा जन्मिएका ४५ जना सर्जकका कृतिहरूको ४३ जना समालोचकले मूल्याङ्कन गरेको पाइन्छ। यसमा दुईवटा लेख तुलनात्मक अध्ययनका रहेका छन्। यी दुई तुलनात्मक लेखमा पुष्पलाल उपाध्याय र छविलाल उपाध्यायका छन्द कविताहरूको तुलनात्मक अध्ययन डा. दैवकी देवी तिम्सिनाले गरेकी छन्। अर्को तुलनात्मक लेख हो रञ्जिता भट्टराईद्वारा गरिएको शेरमान थापाको कथा सङ्ग्रह ‘इन्द्रेनी’ र डिल्लीराम खनालको कथा सङ्ग्रह ‘अभिशप्त युगको आत्मकथा’का कथाहरूको तुलनात्मक अध्ययन। प्रस्तुत पुस्तक पुष्पलाल-छविलालका कविताहरूको विश्लेषणबाट, हरिप्रसाद गोर्खा राईका कथाहरू हुँदै रोहित गौतमको उपन्यास ‘अग्निस्नान’को विश्लेषणमा समाप्त गरिएको छ। यस पुस्तकमा कविता, कथा, उपन्यास, निबन्ध, नियात्रा, व्यङ्ग्य, नाटक र एकाङ्कीसहित साहित्यका सबै विधा समेट्न खोजिएको छ। ‘असमेली नेपाली समालोचना, खण्ड -१’ को अर्को विशेषता हो यस पुस्तकमा यथार्थवादी, स्वच्छन्दतावादी, नारीवादी, प्रगतिवादी, मनोवैज्ञानिक, आञ्चलिकतावादी आदि विभिन्न धाराका पुस्तकहरूलाई विश्लेषण क्रममा ल्याइएको छ। लीलबहादुर छेत्रीको मनोविश्लेषणात्मक उपन्यास ‘अतृप्त’, रूपनारायण पाठकको प्रगतिवादी उपन्यास ‘दोसाँध’, रोहित गौतमको आञ्चलिकतावादी उपन्यास ‘अग्निस्नान’ तथा दुर्गादत्त गौतमको नारीवादी उपन्यास ‘महियसी’ जसको कमै विश्लेषण भएको यस्ता कृतिहरूको पनि विश्लेषण गरिएको छ। पर्यावरण साहित्यको कविता कृति ‘परिश्रान्त पृथिवी’लाई पनि यहाँ समालोचनामा ल्याइएको छ। कविताका क्षेत्रमा शास्त्रीय छन्द र मुक्त छन्द दुवै प्रकारका कविताहरूको र निबन्धमा आत्मपरक र वस्तुपरक दुवैखाले निबन्धको चर्चा गरिएको छ। साथै यस कृतिमा जयनारायण लुइँटेलको नियात्रा ‘दुबई हुँदै अमेरिका’को समीक्षा गरेकी छन् कवयित्री-कवि निलीमा आचार्यले। यसरी तुलनात्मक अध्ययनका दुइटा लेखलाई पनि यहाँ स्थान दिएर तुलनात्मक साहित्यको आभास दिने प्रयास गरिएको छ। प्रस्तुत सङ्ग्रहको लामो(१४ पृष्ठको) सम्पादकीयमा समालोचनाका सैद्धान्तिक पक्ष, नेपाली समालोचनाको जन्म र विकासक्रम, असमेली नेपाली समालोचनाको स्थिति र प्रकाशित पुस्तकको तालिका पनि राखिएको छ। यस पुस्तकमा जय क्याक्टस, नवीन पौड्याल, डा. इन्दु प्रभा देवी, मोहन सुवेदी, लक्ष्मण अधिकारी, डा. गोमा शर्मा, कृष्णनील कार्कीजस्ता चर्चित समालोचकदेखि दीपक गजुरेल, विनोद आत्रेयजस्ता एकदमै नयाँ समीक्षकहरूका समालोचनाले पनि स्थान पाएका छन्। यहाँ १६ जना नारी समालोचकका समालोचनाले स्थान पाउनु अर्को एक उल्लेखनीय पक्ष हो। पुस्तक स्तरीय, प्रयोजनीय र सङ्ग्रहनीय छ। तर, सबै समालोचना उच्चकोटीका छन् भन्नचाहिँ मिल्दैन।
असमेली नेपाली समालोचना (खण्ड-१) असमेली नेपाली समालोचना क्षेत्रको एक उल्लेखनीय कृति हो।
२. साहित्य सिर्जनाका बान्कीहरू
सर्जक : नैना अधिकारी
विधा : समालोचना
प्रकाशक : इन्द्रेनी प्रकाशन, असम
मोल : २००.०० रुपियाँ
असमको कामरूप खेत्रीकी नैना अधिकारी ‘घात-प्रतिघातका उद्गारहरू’ शीर्षक कविता कृति प्रकाश गरेर निकै चर्चामा आएकी हुन्। उनको समालोचना कृति ‘साहित्य सिर्जनाका बान्कीहरू’ दोस्रो प्रकाशित हो। प्रस्तुत कृतिमा एघार जना सर्जकका एघारवटा कृतिको मूल्याङ्कन गरिएको छ भने एउटा खोजपूर्ण लेख ‘असमको कोरोनाकालीन नेपाली साहित्य’ राखिएको छ। नैनाको प्रस्तुत पुस्तकको भूमिका कालेबुङका समालोचक प्राध्यापक नवीन पौड्यालद्वारा लेखाइएको छ। भूमिकाकारले समालोचना साहित्य, असमेली नेपाली साहित्य र समालोचनाको उल्लेख गर्दै नैनाका समालोचकीय प्रवृत्तिहरू केलाएका छन्। यस कृतिमा रुद्र बरालको शुभेच्छा संवाद र इन्द्रेनी प्रकाशन असमको भएर पूजा उपाध्यायले प्रकाशकीय लेखेकी छन्।
नैनाले कथा, उपन्यास र कवितालाई उनको समालोचनाको घेरोभित्र राखेकी छन्। यद्यपि यहाँ कविताहरूको धेर समालोचना राखिएको छ। वरिष्ठ साहित्यकार हरि गजुरेल, डम्बर दाहालदेखि नवीन कवि पूजा आचार्यको कृतिसम्म यहाँ समालोचनामा ल्याइएको छ। उनले असमबाहिरका तिनजना सर्जक कवि पवित्रा लामा (दार्जिलिङ), कवि रचना अनाकार( खरसाङ) र कथाकार हर्कबहादुर लामगादे ‘रोहित’ का कृतिहरूको समालोचना गरेकी छन्, डिल्लीराम खनालका ‘आरोह-अवरोह’भित्रका कविताका साथै गीतहरूलाई पनि समालोचनामा ल्याएकी छन्। समालोचना पढ्दा नयाँ समालोचकको समालोचनाझैँ लाग्दैन। उनले निकै मेहनत गरेर यस कृतिलाई सुन्दर पार्ने प्रयास गरेकी छन्।
३. सिर्जना निरूपण
सर्जक : झर्ना भट्टराई मिश्र
विधा : समालोचना
प्रकाशक : इन्द्रेनी प्रकाशन, असम
मोल : २००.०० रुपियाँ

तेजपुरकी शिक्षिका झर्ना भट्टराई मिश्रको प्रस्तुत कृति पहिलो प्रकाशित कृति हो। यश पुस्तकमा मोठ चौधवटा समालोचना समाविष्ट रहेका छन्। यहाँ नेपाली साहित्यको अतिरिक्त संस्कृत साहित्यको पनि अवलोकन गरिएको छ। वेद उपनिषददेखि कालिदासका कृतिकोसम्म यहाँ विश्लेषण गरिएको छ। यहाँ रुद्रराज पाण्डेको उपन्यास ‘रूपमति’देखि खडगबहादुर कौशिकको ‘हेङदाङ’ कथा सङ्ग्रहको विश्लेषण गरिएको छ भने भानुभक्तको रामायणको नेपाली साहित्यमा प्रभाव, गीता उपाध्यायको असमिया साहित्यमामा योगदान आदि विषयले पनि यहाँ स्थान पाएका छन्। यो व्यक्ति र कृतिपरक समीक्षाको पुस्तक हो। समीक्षाहरू पाठ्यक्रम उपयोगी गरी लेखिएका छन्। उनले संरचनावादी समालोचना पद्धति अपनाएकी छन्।
प्रस्तुत पुस्तकको भूमिका लेखेका छन् असमका वरिष्ठ कवि मोहन सुवेदीले भने इन्द्रेनी प्रकाशन असमको भएर नैना अधिकारीले प्रकाशकीय लेखेकी छन्।
४. नेपाली गीतको सेरोफेरो
सर्जक : नवीन पौड्याल
विधा : समालोचना
प्रकाशक : इन्द्रेनी प्रकाशन, असम
मोल : २००.०० रुपियाँ

भारतीय समालोचना साहित्यमा आफ्नो लागि छुट्टै स्थान ओगट्न सक्षम भएका कालेबुङका प्राध्यापक नवीन पौड्यालले प्रस्तुत कृतिमा अन्वेषणात्मक, ऐतिहासिक सन्दर्भ र समालोचना समेटिएका बारवटा महत्वपूर्ण लेखहरू समेटेका छन्। पौड्यालले ‘भारतमा नेपाली गीत लेखनको परम्परा र प्रवृत्ति’ शीर्षकको लेखमा भारतमा गीत लेखनको एकसय वर्षको इतिहासको नालीबेली केलाएका छन् भने स्थानान्तरमा नेपाली गीत-सङ्गीतसँग संलग्न व्यक्तित्व मित्रसेन थापा, अगमसिंह गिरी, हरिभक्त कटुवाल, अम्बर गुरुङ, शरण प्रधान, गोपाल योञ्जन आदिको व्यक्तित्वमाथि आलोकपात गरेका छन्। यस कृतिमा भारत र नेपाल दुवै देशका नेपाली गीत र गीतकारको विषयमा चर्चा गरेका छन्। पौड्यालले उनको विश्लेषणमा लोकगीतदेखि आधुनिक गीतसम्मलाई समेटेका छन् भने जस योञ्जन ‘प्यासी’, पुरण गिरी, पुष्कर पराजुली आदिका गीतको विश्लेषण र दार्जिलिङका चियाबारीका गीरहरूलाई पनि ऐतिहासिक सन्दर्भका साथ यहाँ चर्चामा ल्याएका छन्।
यस कृतिको अर्को उल्लेखयोग्य कुरा हो यहाँ चाँदनी शाहको ‘उकाली ओरालीहरूमा, धर्मराज थापाको ‘हरियो डाँडामाथि’, नवराज शिवाकोटीको ‘फुलबुट्टे साडी’ तथा राजेन्द्र थापाको ‘पोहोर साल खुसी फाटदा’ जस्ता कालजयी गीतको विश्लेषणका साथै असमका गीत र गीतकारलाईसमेत चर्चामा ल्याइएको छ। ज्ञानबहादुर छेत्रीको भूमिका र कालेबुङका वरिष्ठ कवि राजेन्द्र भण्डारीको शुभकामना रहेको यस सङ्ग्रहमा १२ वटा लेख समावेशित छन्।
कविता कृति:
१.असमेली पर्यावरणीय कविता : (सयुक्त कविता सङ्कलन)
सम्पादक : डा देवेन सापकोटा, अनुपमा कट्टेल।
प्रकाशक : इन्द्रेनी प्रकाशन, असम
मोल : १७०.०० रुपियाँ

‘असमेली पर्यावरणीय कविता’ असम मात्र होइन भारतबाटै निस्किएको पर्यावरणीय नेपाली कविताको पहिलो संयुक्त सङ्कलन हो। यस सङ्कलनमा ७० जना नवीन-प्रवीण कविका ७० वटा पर्यावरणीय कविता समावेशित छन्। सङ्कलनभित्रका कविताहरूमा पर्यावरण विनाश गर्ने, जैविक विविधतामा चोट पुर्याउने, वैश्विक उष्णता वृद्धि गराउने, वातावरण प्रदूषित गराउने कारकहरू र निदानको बाटो देखाउने हस्तक्षेपी कविताहरूलाई स्थान दिइएको छ। प्रस्तुत सङ्कलनको भूमिका लेखेका छन् असमका प्रख्यात समालोचक ज्ञानबहादुर छेत्रीले। छेत्रीले उनको भूमिकामा पर्यावरणीय साहित्यको अवधारणाको जन्म र विकास, उत्तर-आधुनिकतावाद र पर्यावरण साहित्य, भारतेली नेपाली साहित्य र पर्यावरण चेतको उल्लेख गर्दै पर्यावरण साहित्यमाथि धेरै चर्चा गरेका छन्। पर्यावरण साहित्यका अक्लान्त सङ्गठक र साहित्यकार बेलायत निवासी विजय हितानका शुभकामनाका हरफहरूले पुस्तक सजिएको छ। पुस्तकको सम्पादकीय कविताका कुराबाट थालेर पर्यावरण विपर्ययको छलफल गरिएको छ। यस सम्पादकीयमा पनि पर्यावरण साहित्यको विकाससँगै नेपाली साहित्यमा पर्यावण चेत आदिको उल्लेख गरिएको छ। सन् २००३ मा अविनाश श्रेष्ठले निकालेको र धेरै पर्यावरणीय कविता रहेको ‘करोडौँ सूर्यहरूको अन्धकार’ शीर्षक कविता सङ्ग्रहदेखि डा देवेन सापकोटाको ‘परिश्रान्त पृथ्वी’ र राजा पुनियानीको ‘तङ्सिङ’ कविता सङ्ग्रह हुँदै यस सङ्कलनसम्मको पर्यावरणीय साहित्य यात्राको सविस्तार विश्लेषण पाइन्छ। पर्यावरण र पर्यावरणीय साहित्यमा चासो लिनेहरूका लागि यो पुस्तक मूल्यवान हुन पुगेको छ।
२. कविताको सिमसिमे झरी
कवि : कृष्णनील कार्की
विधा : कविता
प्रकाशक : इन्द्रेनी प्रकाशन, असम
मोल : १५०.०० रुपियाँ

कुसल सम्पादक, कवि, कथाकार, नाटककार, समालोचक कृष्णनील कार्कीको ‘कविताको सिमसिमे झरी’ उनको छैटौँ मौलिक कृति हो भने यो काव्यविधाको तेस्रो सिर्जना हो। कवि कार्कीले ‘समकालीन असमेली नेपाली कविता’, ‘असमेली नेपाली समालोचना (खण्ड -१), ‘अग्रणी गोर्खासकल’ आदि नेपाली तथा असमिया भाषाका मूल्यवान पुस्तकहरू सम्पादन गरिसकेका छन्। प्रस्तुत सङ्ग्रहमा ६२ वटा कविताले स्थान पाएका छन्। एउटा उज्ज्वल भविष्यको खोजीमा निस्किएका कविले आफ्नो समय, देश, मानिसलाई नजिकबाट हेरेका छन् र यहाँ भएको जातीय हेपाइ, नारीप्रतिको विषमता, अन्धविश्वास, मानवताको स्खलन, दुर्नीति आदिप्रति उनको घोर असन्तुष्टि र यिनै असन्तुष्टिहरू विभिन्न बिम्ब र प्रतीकमा उनेर उनले कविताको माध्यमबाट अभिव्यक्त गरेका छ्न्। गहन जीवनबोधले गर्दा उनका कवितामा कतै दार्शनिकता झल्किन्छ, कतै सुधारवादी मनोभाव दर्सिन्छ त कतै व्यङ्ग्य र विद्रोहको आवाज चर्किन्छ। कविताहरू सरल र गहन छन्, भाषा प्रयोगमा उनी सचेत छन्।
यस पुस्तकमा कसैको भूमिका अन्तर्भुक्त गरिएको नभए तापनि वरिष्ठ साहित्यकार डम्बर दाहाल र डा. इन्दु प्रभा देवीका शुभकामनाका हरफहरूले पुस्तक सजिएको छ।
३. कृति : थोपो र मरुभूमि
कृतिकार : रुद्र बराल
विधा : कविता
प्रकाशक : इन्द्रेनी प्रकाशन, असम
मोल : १७०.०० रुपियाँ

शोणितपुर जिल्लाको बडसोलामा बसोबास गर्ने रुद्र बराल शिक्षण पेसामा संलग्न र साहित्यिक संस्था- सङ्गठनहरूमा पनि सक्रिय देखिन्छन्। उनले ५ वटा मौलिक कृति, पाँचवटा अनूदित कृति तथा एक दर्जनभन्दा ज्यादा सम्पादित कृति असमिया र नेपाली भाषामा प्रकाशित गरिसकेका छन्। ‘थोपो र मरुभूमि ‘ काव्यकृति विमोचनपश्चात् उनका मौलिक कृतिको सङ्ख्या ६ वटा पुगेको छ। कथा, निबन्ध, समालोचना र कविता लेखनमा खप्पिस बराल अनुवादक र कुशल सम्पादकका रूपमा पनि उत्तिकै परिचित छन्।
विमोचित कविता कृति ‘थोपो र मरुभूमि’ मा ३९ वटा कविता सन्निविष्ट भएको पाइन्छ। कविताहरूले अन्याय-अत्याचारका विरुद्ध हल्ला बोलेका छन्। हल्ला केवल हल्ला नरहेर विश्वासको स्वरमा मानवताको गीत गाएका छन्। निम्नवर्गका सुस्केराहरू मरुभूमिमा बलुवा उडेझैँ उडेका छन्, त्यसैले कवि बराल औधी चिन्तित छन्। मन पिरोलिएको छ। कविले आक्रोश र सान्त्वनाका थोपाहरूले सुस्केरारूपी बलुवा भिझाउने प्रयास गरेका छन्। यसै प्रयासमा यदाकदा आशावादी स्वरसहितै निराशावादी विचार पनि कविताहरूमा भित्रिएका छन्। यस कृतिमा उत्तरआधुनिकता सिद्धान्त बोकेका कविताहरू पनि छन्। धेरैजसो कविता मझौला आयामका छन् भने छोटा कविताहरू पनि रहेका छन्। शीर्षकको ‘थोपो र मरुभूमि’ कविता नै छोटो आयामको रहेको छ। कतिपय कविताहरूमा नवीन काव्यशैलीको प्रयोग भएको छ। एउटै शैली नभएर सङ्ग्रह भिन्नभिन्न शैलीको प्रयोग गरिएको छ। शिल्पपक्ष भने गहकिलो छ। बराललाई काव्यशैली र शिल्पका कारिगर भन्दा अत्युक्ति नहोला। ७६ पृष्ठको जेकेट कभरको सुन्दर आवरणले सजिएको पुस्तकको मोल १७०/- रुपियाँ रहेको छ। यस कृतिका कविताहरूले पाठकलाई कविताको रसस्वादन भने पक्कै गराउने छ भन्ने कुरामा ढुक्क हुन सकिने सम्भावना बढी छ।









