आईसीसी महिला टी२० वर्ल्ड कपः आयोजक दक्षिण अफ्रिका फाइनलमा

IMG-20230225-WA0089.jpg

२५ फरवरीः आईसीसी महिला टी२० वर्ल्ड कपको दोस्रो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकाले ईंग्ल्याण्डलाई ६ रनले पराजित गरी फाइनलमा स्थान बनायो। दक्षिण अफ्रिकाबाट प्राप्त भएको १६५ रनको लक्ष्यलाई खेदो गर्दै ईंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो। ईंग्ल्याण्डको तर्फबाट ओपनिंग ब्याटर डेनियल व्याटले ३० बलमा ३४ अनि सोफिया डंकलेले १६ बलमा २८ रन बनाइन्। पहिलो विकेटको निम्ति ५३ रनको पार्टनरशीपपछि ईंग्ल्याण्डले डंकले र एलिक केप्सी (०)-लाई एकै ओभरमा गुमायो। एमी जोन्स पनि केवल २ रन बनाएर आउट भइन्।

त्यहाँबाट नेट साइवर-ब्रण्ट र हीदर नाइटले ईंग्ल्याण्डको ईनिंग्सलाई सम्हालिन्। यी दुईले प्रयास गरे पनि अन्तसम्म खेल्न सकिनन्। ब्रण्टले ३४ बलमा ४० अनि नाइटले २५ बलमा ३१ रनको योगदान दिइन्। त्यसपछि सोफी एक्लेस्टोन (१) र केथरीन साइवर-ब्रण्ट (०)-ले खास योगदान दिन सकिनन्। दक्षिण अफ्रिकाकी बलरहरूमा अयाबोंगा खाकाले ४ अनि अनुभवी शब्निम इस्माइलले ३ विकेट हासिल गरिन्।

यसअघि केपटाउनको न्यूल्याण्ड्समा टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनायो। ओपनिंग ब्याटर लौरा वोल्भार्ड्ट र ताजमिन ब्रिट्सले टीमलाई असल शुरुवात दिलाइन्। यी दुईले पहिलो विकेटको निम्ति १३.४ ओभरमा ९६ रनको पार्टनरशीप गरिन्। यसमा वोल्भार्ड्टले ४४ बलमा ५३ रन अनि ब्रिट्सले ५५ बलमा ६८ रन बनाइन्। तेस्रो नम्बरमा ब्याटिंग गर्न ओर्लिने मरिजेन काप्पले १३ बलमा अविजित २७ रन बनाइन्। मध्यक्रममा क्लोए ट्रायन (३) र नादिन डी क्लार्क (०)-ले कुनै खास योगदान दिन सकिनन्। ईंग्ल्याण्डकी बलरहरूमा सोफी एक्लेस्टोनले सर्वाधिक ३ विकेट हासिल गरिन्। दक्षिण अफ्रिकाले अब आइतवार खेलिने फाइनलमा अष्ट्रेलियाको चुनौती स्वीकार्नेछ। अष्ट्रेलियाले यसअघि खेलिएको पहिलो सेमिफाइनलमा भारतलाई पराजित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement