उत्तर कोरियाले गर्यो फेरी मिसाइल परीक्षण

missile-copy-1

अमेरिका र दक्षिण कोरियाले संयुक्त परमाणु अभ्यास गरेपछि उत्तर कोरियाले थप मिसाइल परीक्षण गरेको छ। प्योङयाङले ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेर अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासलाई ‘युद्धको घोषणा’ मान्न सकिने पनि बताएको छ। उत्तर कोरियाली सेनाले बिहीबार बिहान चारवटा ह्वासल–२ परीक्षण गर्दै रणनीतिक क्रुज मिसाइल प्रक्षेपण अभ्यास गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको छ। यो अभ्यासले उत्तर कोरियाका ‘शत्रु शक्तिविरुद्ध घातक आणविक प्रतिआक्रमण क्षमता’ प्रस्तुत गरेको उक्त समितिले टिप्पणी गरेको छ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले उक्त परीक्षणको विवरणमाथि प्रश्न गर्दै अमेरिका र दक्षिण कोरियाली निगरानीबाट प्राप्त विवरणबीचको भिन्नता विश्लेषण भइरहेको जनाएको छ। हालको संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धअन्तर्गत क्रुज मिसाइल प्रक्षेपणमा उत्तर कोरियामाथि कुनै प्रतिबन्ध छैन तर बिहीबारको अभ्यासले यो साता धेरै हतियार परीक्षण भएका छन्। उत्तर कोरियाको अन्तरमहादेशीय ‘ब्यालिस्टिक मिसाइल’ परीक्षणलाई उत्तेजना बढाउने कार्य भन्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले त्यसको निन्दा गरेका थिए।

प्योङयाङले आफ्नो आलोचना अनुचित एवं असन्तुलित भएको टिप्पणी गर्दै सोल र वासिङ्टनको संयुक्त सैन्य अभ्यासको निन्दा गर्न राष्ट्रसङ्घलाई आह्वान गरेको छ। साथै प्योङयाङले आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको छ। अमेरिकी र दक्षिण कोरियाली संयुक्त अभ्यासले उत्तर कोरिया क्रुद्ध भएको छ। उक्त अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यासको रूपमा लिएको छ। प्योङयाङले एक विज्ञप्ति जारी गर्दै वासिङ्गटनको वैमनस्यतापूर्ण एवं उत्तेजक अभ्यासलाई युद्धको घोषणाका रूपमा लिन सकिने जनाएको छ। साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी गरेको छ। उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा गरेको लामो दूरीको मिसाइल प्रक्षेपण अमेरिकी मुख्यभूमिसम्म प्रहार गर्ने क्षमताको भएको मिसाइलका जानकारहरूले बताएका थि । अन्तरमहादेशीय प्रहार क्षमताको उक्त मिसाइल गत नोभेम्बरमा उत्तर कोरियाले गरेको शक्तिशाली मिसाइल जत्तिकै लामो दूरीमा प्रहार गर्ने सामर्थ्यको हुनसक्ने उनीहरूको अनुमान छ। सुरक्षा विश्लेषकहरूले छोटो दूरीका मिसाइल परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन्। दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ। प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका मिसाइल शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएका बताउँदै आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement