लिङ्गे पिङको लठारो

00-1-Lingay-Ping

म तँ ऊबाट बनिए घर

घर घर मिलेर बनियो समाज

अनि 

समाजले डोर्‍याएका 

जात जातका मान्छेका हात हात मिलेर बनिएको

संसार नामको सिङ्गो घर 

एउटा कहिल्यै नचुडिने लहरो थियो

उसका र मेरा बाबुले एकैसाथ लिङ्गेपिङ खेल्दा 

नचुडिएको लठारोजस्तै |

नातिको मुखबाट निस्किन्छ भेदभावको प्रश्न

अतीतको लहरो समाउँदै फर्किन्छन् हजुरबुवा 

रोकिन्छन् नातिको अज्ञताको जरोनेरि

कहाँ देखेको थियो र उसले

साने दमाईको टोलीको बेन्डपार्टीको धुनमा 

उसको बेहुलो हजुरबुवा यज्ञबाट उठेर नाचेको

कहाँ देखेको थियो र

ठुले सोनारले बनाएको च्याप्टेसुन र नौगेडी भेटेर

बेहुली हजुरआमा रुँदारुँदै हाँसेको

कसले भन्न भ्यायो र उसलाई

उसका बाबुको बालककाल 

दर्जिनी साइँलीका हातका सिपभित्र अटाएथ्यो भनी!

कसले भन्न भ्यायो र 

उसले कपरी ‘क’ रट्ने पुस्तक छाप्ने मसिन

कुनै विश्वकर्माको हातको खेलौना थियो भनी!

खोराकी जाल पढ्दछ नाति

साँपले भ्यागुत्तो खाएको हेर्दछ नाति

गिद्दले दुर्गन्ध साफ गरेको देख्दछ नाति

जलचक्र, नाइट्र’जेन चक्र कण्ठस्थ गर्दछ नाति

समाज शृङ्खल कण्ठस्थ हुँदैन उसको

हजुरबुवा र बुख्याचाबिचको भेद 

मनमा रहँदैन उसको

अथवा राख्न पनि चाहँदैन ऊ|

उसको दृष्टिमा-

उसलाई चबाउन बाइएका मुखहरू भिन्नै छन्

उसको भोकको मुख सिलाउन सक्ने हात 

भिन्नै छन्|

आफ्नो युक्तिमा अडिक छ नाति

हजुरबुवातिरै छोड्दछ प्रश्न-

“जातपातको तराजुले मेधाशक्ति मापेर

आरक्षणको नाममा

लिङ्गेपिङको लठाराले 

कसैको भुडीमा पटुकी कसाउनेहरू

वर्ण वैषम्यका समर्थक होइनन् र 

हजुरबुवा ?”

About Author

Advertisement