कोलकताः पश्चिम बंगालको बहुचर्चित कोइला तस्करी मामिलाका मास्टरमाइन्ड विनय मिश्राका भाई विकास मिश्रालाई प्रेसिडेन्सी जेलमा अतिरिक्त सुविधाहरू दिएको आरोप जेल सुपरमाथि लागेको छ। यस विषयलाई लिएर बिहीवार कोर्टले जेल सुपरलाई नै जेलमा हाल्ने चेताउनी दिएको छ। जेल सुपरको नाम देवाशीष चक्रवर्ती हो।
तृणमूल कङ्ग्रेसका युवा नेता एवं मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जीको नजिकको व्यक्ति विनय मिश्राका भाई विकासलाई अगावै ईडीले पक्राउ गरेको थियो। त्यसपछि उनी सीबीआईको हिरासतमा लामो समयदेखि प्रेसिडेन्सी सेण्ट्रल जेलमा बन्द छन्। सीबीआई सोधपुछमा बाधा र मिश्रालाई जेलमा अतिरिक्त सुविधा दिइएको मामिलामा न्यायमूर्ति जयमाल्य बागची र अजयकुमार गुप्ताको खण्डपीठमा बिहीवार सुनवाई भयो। कोर्टले साक्ष्यहरूबाट प्रेसिडेन्सी जेल अधीक्षकले नै विकास मिश्रालाई विशेष सुविधाहरू दिइरहेको स्पष्ट भएको बतायो। कोर्टले अधीक्षकमाथि १० हजार जरिमाना लगाउॅंदै जरिमाना नदिएको खण्डमा उनलाई जेलमा पठाउने बताएको छ।