तीनधारे: यसपालीको माध्यमिक परीक्षा बिहीबारदेखि शुरु भएको छ। पहिलो दिनको परीक्षा शान्तीपूर्ण ढंगमा सम्पन्न भएको छ। यसपाली खरसाङ क्षेत्रमा जम्मा १०१० जनाले पहिलो दिन माध्यमिक परीक्षा दिएको जानकारी प्राप्त भएको छ। त्यसरी नै तीनधारे क्षेत्रमा जम्मा ३५६ जनाले माध्यमिक परीक्षा दिने भनिए पनि ११ जना अनुपस्थित रहेको जानकारी प्राप्त भएको छ। यसपाली तीनधारे क्षेत्रमा जम्मा ४ वटा माध्यमिक केन्द्रहरू रहेका छन् जसमा तीनधारे हाई स्कूल (सेकेण्डेरी एडुकेशन), तीनधारे कन्या विद्यालय, मिठाईडाँड़ा रेणुका कन्या विद्यालय र सुकना हाई स्कूल रहेका छन्।

यी चारैवटा केन्द्रहरूमा १७१ जमा छात्रहरू र १८५ जना छात्राहरू गरी जम्मा ३५६ जनाले परीक्षा दिने भनिए पनि ११ जना अनुपस्थित रहेकोले पहिलो दिन जम्मा ३४५ जनाले माध्यमिक परीक्षा दिएको जानकारी तीनधारे क्षेत्रका माध्यमिक परीक्षा सेन्टरको सचिव एंव शिक्षक देवेन्द्र लामाले दिएका छन्। तीनधारे क्षेत्रमा पहिलो दिन परीक्षा शान्तीपूर्ण सम्पन्न भएको छ। पहिलो दिन परीक्षाको अघि स्थानीय पुलिस प्रशासनद्वारा फूलहरू वितरण गरेर परीक्षार्थीहरूलाई शुभकामना दिएका थिए।