कालेबुङ: आज बिहीबारदेखि पश्चिम बङ्गाल माध्यमिक शिक्षा परिषदद्वारा सञ्चालित माध्यमिक परीक्षा आरम्भ भएको छ। कालेबुङ जिल्लामा पनि पहिलो दिनको माध्यमिक परीक्षा शान्तिपूर्वक शुरू भएको छ। कालेबुङ जिल्लामा यस वर्ष मोठ ३४६३जना विद्यार्थीहरुले परीक्षा लेखिरहेका छन्, जसमा १६६० जना छात्र अनि १८०३ जना छात्राले कालेबुङका विभिन्न १८ वटा परीक्षा केन्द्रमा परीक्षा लेखिरहेका छन्। कालेबुङमा ४ वटा मुख्य परीक्षा केन्द्र क्रमैले कुमुदिनी विद्याश्रम, चन्द्रमाया हाई स्कूल, गिडब्लिङ हाई स्कूल र जुद्धबीर हाई स्कूल रहेका छन्। यसरी नै कुमुदिनी विद्याश्रमको अधीनमा जम्मा १० वटा परीक्षा केन्द्र सञ्चालनमा रहेको छ। यसैबीच यस वर्ष परीक्षालाई शान्तिपूर्वक र सुचारु रुपमा सञ्चालन गर्न प्रत्येक परीक्षा केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। माध्यमिक परीक्षालाई शान्तिपूर्वक सम्पन्न गराउन परीक्षा केन्द्र परिसरमा पुलिसका जवानहरू तैनाथ गरिनुको साथै १४४ धारा लगाइएको छ।