सिलगढी पश्चिम बंगाल सरकारले एकचोटि फेरि दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका चिया अनि सिन्कोना बगानका श्रमिकहरूलाई उनीहरूका पुर्ख्यौली भूमिको पर्जा पट्टा दिनुको साटो ५ डेसिमल भूमिको मात्रै अधिकार दिएर ठूलो धोखा गर्दैछ अनि उनीहरूका अधिकारहरूलाई मिच्दैछ भनी दार्जिलिङका भाजपा सांसद एंव राष्ट्रिय प्रवक्ता राजु विष्टले बताएका छन्। सांसद राजु विष्टले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् – ‘बेघर र भूमिहीनहरूलाई ५ डेसिमल भूमि दिने योजना पश्चिम बंगाल सरकारले २०११ मा नै राज्य सरकारको ‘निजो गृह निजो भूमि’ नीति अन्तर्गत अघि सारेको थियो। दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका हाम्रा चिया बगान र सिन्कोना बगानका श्रमिकहरू भूमिहीन वा बेघर होइनन्। हाम्रो आफ्नो पुर्ख्यौली भूमि छ अनि हाम्रा आफ्नै घर पनि छन्। हामीसँग नभएको भनेको हाम्रा जमीनको कागजपत्र हो जसलाई स्वतन्त्रता प्राप्त भएको ७५ वर्ष बितिसक्दा पनि पश्चिम बंगाल सरकारले दिन मानिरहेको छैन। हामीले हामीसँग रहेको हाम्रो पुर्ख्यौली भूमिको ‘पर्जा पट्टा’ बाहेक सरकारबाट अरू केही मागिरहेका छैनौँ। हामीले “शरणार्थी पट्टा” (Refugee Patta) मागेका होइनौँ, जो टीएमसी सरकारले दिन खोजिरहेको छ। हामीलाई हामीसँग भएको हाम्रो पुर्ख्यौली भूमिको दस्तावेज चाहिन्छ।”
उनले अघि भनेका छन् -“दार्जीलिङबाट लोकसभा सांसद चुनिएपछि मैले यस मुद्दालाई हरेक मञ्चमा उठाएको छु अनि संसदमा पर्जा पट्टाको मांग गर्दै पश्चिम बंगाल सरकारमाथि दवाब बनाएको छु र सम्बन्धित मन्त्रालयहरू समक्ष यस मुद्दालाई लिएर गएको छु। हालैमा, वाणिज्यसम्बन्धि संसदीय समिति समक्ष जसमा म पनि शामेल छु। मैले चिया बगान श्रमिकहरूलाई भूमि अधिकारबाट वञ्चित राखिएको विरुद्ध जोड़दार ढंगले मुद्दा राखेको थिएँ। फलस्वरूप वाणिज्यसम्बन्धि संसदीय समितिले आफ्नो १७१औँ प्रतिवेदनमा श्रमिकहरूलाई भूमि अधिकार तत्काल प्रदान गर्न सिफारिस गरि सकेको छ।”
सांसद विष्टले अझ भनेका छन् – “केन्द्रीय सरकारले चिया बगान अनि सिन्कोना बगान श्रमिकहरूलाई भूमि अधिकार प्रदान गर्नु पर्ने आवश्यकताबारे पश्चिम बंगाल सरकारलाई जनाई सकेको छ। केन्द्रीय वाणिज्य मन्त्रालयले चिया बगान श्रमिकहरूलाई भूमि अधिकार प्रदान गर्नका लागि पश्चिम बंगाल सरकारलाई दुईवटा पत्रहरू पठाइसकेको छ अनि यस्तै पत्रहरू ग्रामीण विकास मन्त्रालयले समेत पठाइसकेको छ। मलाई डर छ कि टीएमसी सरकारले ५ डेसिमलभन्दामाथि रहेको भूमिलाई जहाँ हाम्रा जनताले सागसब्जी र मकैको खेती गर्दछन्, गाई-बाख्रा र कुखुरा पालछन्, सुन्तला, अम्लिसो, अलैंची र अदुवाको खेती गर्दछन्, अवैध घोषित गर्नेछ अनि हाम्रा जनताबाट उनीहरूको पुर्ख्यौली जमीन खोस्नेछ। टीएमसी सरकारले हाम्रो पुर्खौली भूमिमा अरू ५-तारे होटेलहरू बनाउनका लागि हाम्रो जमीनमाथि गिद्धेनजर लगाएका छन्। उनीहरुको यो चाल-खेल अत्यन्तै खतरनाक छ।”
उनले अझ भनेका छन् -“हाम्रा चिया बगान अनि सिन्कोना बगान श्रमिकहरूबाट उनीहरूका पुर्ख्यौली भूमिलाई खोस्न टीएमसीलाई हामी कदापि दिने छैनौँ। हामी हाम्रो पुर्ख्यौली भूमिको पूर्ण पर्जा पट्टाको माग गर्दछौँ।”