कोलकाता: प्रवासी नेपाली संघ भारतको नयाँ अध्यक्षको रुपमा सुपरिचित लेखक एवं समाजसेवी नारायण प्रसाद होमागाइँ सर्वसम्मतिले चयन भएका छन्l गत १९ फरवरीदेखि २१ फरवरीसम्म महाराष्ट्रको पुणे शहरमा प्रवासी नेपाली संघ भारतद्वारा आठौँ अखिल भारत प्रवासी नेपाली सम्मेलन तीन दिनसम्म आयोजना भएको थियोl सोही सम्मेलनमा नारायण प्रसाद होमागाइँ अध्यक्ष चयन भएका हुन्l उनी धेरै वर्षदेखि विभिन्न संघ-संस्थामा संलग्न रहेर सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहँदै आएका छन्l
सम्मेलनको प्रथम दिनमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो भने दोस्रो र तेस्रो दिनको अधिवेशनमा नयाँ कमिटी गठनका साथमा विभिन्न विषयहरूमा चर्चा-परिचर्चा भएको थियोl अखिल भारत सम्मेलनले सर्वसम्मतिका साथ परिवर्तित विधानको व्यवस्थापनअनुसार ७५ सदस्यीय केन्द्रीय कमिटीको चयन गरेको छ। यो कमिटीमा भारतका १२ वटा राज्य र संयुक्त राज्य कमिटीका अध्यक्षहरू स्वतः केन्द्रीय कमिटी सदस्य सरहको अधिकार क्षेत्रमा रहने व्यवस्था परिवर्तित विधानले व्यवस्था गरेको छl केन्द्रीय कमिटीको आवश्यकताअनुसार १० प्रतिशत नेतृत्व मनोनित गर्न सकिने व्यहोरा व्यवस्थापन भएको छl
प्रवासी नेपाली संघ भारतले सामाजिक कार्यहरूका साथमा नेपाली भाषा, संस्कृति र शिक्षाको प्रवर्द्धन साथै विकास गर्ने कार्य गर्दै आइरहेको नयाँ अध्यक्ष नारायण प्रसाद होमागाइँले बताएका छन्l
सन् १९६६ मा प्रवासी नेपाली संघ लखनउबाट शुरु भएको थियोl सन् १९८१ मा यो कोलकाताको सम्मेलनमा पुन: शुरु भयो, यति बेला अखिल भारत प्रवासी नेपाली संघ बन्योl यसपछि सन् १९९१ मा कोलकाताको सम्मेलनमा दुवैलाई एकसाथ गराएर प्रवासी नेपाली संघ भारत बनेर आजसम्म निरन्तर चल्दै आइरहेको छl संघको राष्ट्रिय सम्मेलनमा भारतका विभिन्न ठाउँबाट प्रतिनिधी मण्डलको सहभागिता रहन्छl