शब्द समय सालबारीको ११३औं प्रकरणको मीठो सम्झना…

00-1-IMG-20230222-WA0090

                                    कालूसिंह रनपहेंली– 

वर्षको अन्तिम दिन ३१ दिसम्बर, २०२२। यसका सँगसँगै यो थियो महीनाको अन्तिम शनिबार पनि। शब्द समय सालबारीको ११३औं प्रकरण यो चिसो मौसममा पनि कार्यक्रममा पठित सिर्जनाहरूको न्यानोपनमा खुबै रमाइलोसित सम्पन्न भएको थियो। स्थानीय सयपत्री भवनमा सम्पन्न यो प्रकरणको प्रथममा शब्द समयका अभिभावक व्यक्तित्त्व विशिष्ट साहित्यकार नरबहादुर दाहालले आफ्ना मन्तव्यहरू राखेका थिए।

यस क्रममा उनले कालेबुङमा आयोजित रामकृष्ण शर्मा जन्मशतवार्षिकी समारोहमा आफू सहभागी बन्न पुग्दाका सम्झनाहरू बताए। दाहाल महोदय बताइरहेका थिए उनी सो समारोहमा १ घण्टा २० मिनट अविराम बोलेका थिए अनि रामकृष्ण शर्मामाथि आफ्नो सान्निध्यका संस्मरण्हरू राखिरहेका थिए। साहित्यकार दाहालले यसपल्ट अनुवाद साहित्य अकादमी पुरस्कारको निम्ति जुरीको रूपमा कलकत्ता पुग्दा बटुलेका अनुभवहरू पनि बताए। त्यसपछि शब्द समयमा प्रथमपल्ट उपस्थित बन्न आएका सर्जकहरू क्रमैले कवि ग्रेसी थुलुङ राई, कवि-गीतकार-गजलगो अजय थापा अनि अवकाशप्राप्त डिएसपी सर्जक निर्मल सिन्चुरीलाई साहित्यकार दाहालको बाहुलीबाट खदा पहिर्याएर स्वागत जनाइयो। प्रतिष्ठित कवि-कथाकार भविलाल लामिछानेले पनि साहित्य अकादमी पुरस्कार सन्दर्भमा आफ्ना अनुभवहरू राखेपछि तीनवटा बाल कविताहरू क्रमैले ‘उडन तस्तरी’, ‘पोखरीमा घाम’ अनि ‘हाम्रो राम्रो गाउँ’ शीर्षकमा सुनाए। प्रतिष्ठित कवि मोहन ठकुरीले ‘म’-को अहङ्कारलाई सुन्दर शब्दहरूमा रचेर ‘महरू’ शीर्षकमा कविता सुनाए। प्रख्यात आख्यानकार विन्द्या सुब्बाको उपस्थितिले यस प्रकरणलाई गरिमामय तुल्याएको थियो। उनले सत्य घटनामा अधारित हृदयस्पर्शी कथा ‘कल्याणी’ शीर्षकमा सुनाएकी थिइन्। वरिष्ठ कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवडाले पुरानो साललाई विदा दिँदै र नयाँ साललाई स्वागत जनाउँदै ‘३१ दिसम्बरको आँखा र बूढो घाम’ शीर्षकको सुन्दर कविता वाचन गरेर सुनाए। नयाँ साललाई स्वागत जनाउँदै अवकाशप्राप्त कप्तान महेश कुमार सुब्बाले पनि ‘नयाँ वर्ष’ शीर्षकको कविता सुनाए। वरिष्ठ कथाकार मणिकुमार प्रधानले चिटिक्क परेको बुकुने कथा ‘कालो चश्मा’ शीर्षकमा सुनाएका थिए। कवि पवित्र राईले कविता वाचन गरिन् ‘सायद म पनि त्यही धुप्पीको रूख हुँ’ शीर्षकमा। शब्द समयमा प्रथमपल्ट सहभागी बनेकी कवि ग्रेसी राई थुलुङले एक प्रेमिल कविता वाचन गरिन्। उसै गरी अ.प्रा. डीएसपी सर्जक निर्मल सिन्चुरीले वाचन गरेका दुई कविताहरू थिए- ‘अहो’  र ‘बन्द कोठाभित्र’। सुपरिचित कवि-गीतकार-गजलगो अजय थापाले ‘आकाश’ अनि ‘सपना’ शीर्षकमा दुई कविताहरू सुनाएपछि गजल वाचन गरेका थिए। रम्भास कविको रूपमा नाम कमाएका सर्जक लीलबहादुर सुनारले दुई मुक्तकहरूसित नयाँ साललाई स्वागत जनाउँदै कविता वाचन गरे। युग्मककार कालूसिंह रनपहेंलीले केही युग्मकहरूसित ‘शीत शैली’ शीर्षकको ऋतुसापेक्ष कविता सुनाए। सम्पूर्ण कार्यक्रमलाई वरिष्ठ कवि-अनुवादक खडकराज गिरीले खुबै सुन्दर ढङ्गमा सञ्चालन गरेका थिए। उनले शब्द समय सालबारीको तर्फबाट सबै सबैलाई नयाँ वर्षको शुभकामना पनि व्यक्त गरे। उनीद्वारा नै धन्यवाद ज्ञापन राखिएपछि शब्द समयको यो प्रकरण समाप्त भयो। यस प्रकरणमा प्रसिद्ध फिल्म अभिनेता टङ्क शर्मा, गजलगो अनि अनलाइन पत्रिकाका सम्पादक शैलेन्द्र समदर्शी, वरिष्ठ व्यक्तित्वहरू डी.एस. बम्जन, बी.बी. योञ्जन, पूर्ण मंगर, पूर्ण कुमार राई, आइ.एन. शर्मा, शिवाकोटी दोषी, मणिकुमार तामङ आदि विशेष रूपमा उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement