सिलगढी: जोरबङलो सुकिया पोखरी खण्ड अन्तर्गत पर्ने धोत्रिया बालासनका जनताले माननीय मुख्यमन्त्री ममता बनर्जीको हातबाट पर्जापट्टा थाप्नु अघि जीटीए प्रमुख कार्यपाल अनित थापा अनि क्षेत्रीय सभासद राजेश चौहानलाई धन्यवाद दिनु पिन्टेल भिलेज पुगेका थिए। भेला भएका समुहलाई सम्बोधन गर्दै जीटीए चिफ् एक्जिक्युटिभ अनित थापाले भने, “विगतको चुनावमा हामीले पर्जापट्टा दिलाउँछु भनेर चुनावी घोषणा नै गरेको थियौं। त्यही घोषणा अनुरूप मैले काम पनि गरे। कमानवासीले पर्जापट्टा पाउँछ भनेर कसैले पनि पत्याएको थिएन। फेरि विधान सभामा सरकारले पर्जापट्टा दिने घोषणा गरे। तब अलि अलि गरेर मान्छेले विश्वास गर्नु थाले। जब आज तपाईंको हातमा पर्जापट्टा आउँछ अनि मान्छेले देख्छ तब सबैले पत्याउने छन्।”
उनले थप भने, “मैले बारम्बार भन्ने गर्थे कि घर हाम्रो, घरको छाना हाम्रो तर जमीन नै हाम्रो होइन। आज तपाईं पर्जापट्टा लिएर जब घर जानुहुन्छ घमण्डसंग आफ्नो बाऊ बाजेले राखिदिएको जमीन मेरो भन्नु सक्नु हुनेछ। यो तपाईहरुको निम्ति ठूलो हतियार हो। अब तपाईहरुले यो जमीनमाथि धेरै कुरा गर्नु सक्नु हुनेछ।”

जमीनमाथि राजनीति गर्नु मिल्दैन भन्दै उनले भने, “हाम्रो निम्ति यो ठूलो उपलब्धि हो। आजदेखि पहाडमा नयाँ इतिहास रचिन्दैछ। पहिला घर अनि घडेरी आफ्नो बनाऔं। त्यसपछि अन्य जमीन पनि आफ्नो हुँदै जानेछ।”
जानकारी अनुसार जम्मा १४० परिवारको पर्जापट्टा तयार छ। तर आज सिलगढीस्थित कञ्चनजंघा स्टेडियममा आयोजित मुख्यमन्त्रीको कार्यक्रममा 5 परिवारले मुख्यमन्त्रीको हातबाट पर्जापट्टा थापेका छन् अन्यले पिन्टेल भिलेजमा जीटीए चिफ् अनित थापा र जीटीएको डेपुटी चेयरम्यान राजेसको बाहुलीबाट पर्जा पट्टा वितरण गरिएको छ।