आउँदो वर्षदेखि ८ फरवरीलाई नेपाली माथि लागेको विदेशीको दाग हटेको दिनको रुपमा पालन गर्नेः मुख्यमन्त्री तामाङ
सिङ्गताम। सिक्किम सरकारले आगामी आउँदो सालदेखि 8 फरवरीको दिनलाई सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको दाग हटेको दिनको रुपमा पालन गर्ने भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पूर्व सिक्किमको सिङताम बजारमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आयोजना गरेको विजय उत्सव एवं बधाई महासभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका छन्। यसको निम्ति उनले जानकारहरूलाई सुहाउँदो नाम चयन गर्ने सुझाउ पनि दिएका छन्। मुख्यमन्त्री तामाङले सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको लाञ्छना हट्नु सिक्किम मात्र नभएर सम्पूर्ण भारतीय नेपालीहरूकै निम्ति अति महत्वपूर्ण र ऐतिहासिक रहेको ठहर गरे।
उल्लेखनीय छ, सिक्किमे नेपाली समुदायमाथि लाग्ने गरेको विदेशीको लाञ्छना सधैंको निम्ति हटेको दावी गर्दै राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आजको विजय उत्सव तथा बधाई महासभा आयोजना गरेको थियो। यस अवसरमा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको लाञ्छना हटाउनमा निभाएको भूमिकाको कदर गर्दै एसकेएम पार्टीले अभिनन्दन जनायो भने राज्यको भूतपूर्व विधायक परिसङ्घ लगायत विभिन्न जातीय एवं अन्य सङ्घ संस्थाले पनि मुख्यमन्त्रीलाई अभिनन्दन जनायो। कार्यक्रममा राज्यका विभिन्न जिल्लाबाट बहु सङ्ख्यामा एसकेएम पार्टीका कार्यकर्ता, समर्थक साथै सर्वसाधरणले सहभागिता जनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किमे नेपालीहरूलाई विदेशीको ताजा आछेप लागेपछि एउटा जिम्मेवार सरकार र मुख्यमन्त्रीको रुपमा कुनै प्रकारको हल्लाखल्ला र प्रचार प्रसार नगरी केन्द्र सरकारलाई विश्वासमा लिएर कानुनी लड़ाईको तयारीमा जुटेको बताए। आफ्नो तथा वर्तमान राज्य सरकारको केन्द्र सरकारसित मधुर सम्बन्ध रहेकै कारण छोटो अवधिमा समीक्षा याचिकामार्फत यस समस्यालाई समाधान गर्न सकिएको पनि उनले थप बताए। सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको दाग १९९३ देखिको गाड़े घाउ हो भन्दै वर्तमान सरकारले त्यस घाउलाई सधैंको निम्ति निको पारेको मुख्यमन्त्रीको भनाइ रहेको छ। तर, अर्कोतिर पूर्वको एसडीएफ सरकारले भने यसै मुद्दालाई सिँडी बनाएर पाँचपल्टसम्म सत्तामा उक्लेको तर यसको समाधानको दिशामा भने कहिल्यै पहल नगरेको उनले आरोप लगाएका छन्। यस सम्पूर्ण प्रकरण अवधि सिक्किमे जनता आफूसित खड़ा भएकोमा उनले सम्पूर्ण राज्यवासीलाई धन्यवाद दिए। यसको साथै यतिका वर्षसम्म यस मुद्दालाई केवल सत्ता उक्लने माध्यमा बनाएकोमा पूर्व मुख्यमन्त्री तथा विपक्षी नेता पवन चामलिङले सिक्किमवासीसित माफी माग्नुपर्ने मुख्यमन्त्री गोलेले माग गरेका छन्।