खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा आयोजितखरसाङ भेटेरन ब्याडमिन्टन प्रतियोगिताको समापन

IMG-20230220-WA0257.jpg

खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएशनको तत्वावधानमा आयोजित तीन दिने ‘खरसाङ भेटेरन ब्याडमिन्टन प्रतियोगिताको समापन भएको छ।

समापन समारोह फाइनल खेलको साथमा खरसाङको पार्क लोकेसनस्थित एसोसिएसन हलमा सम्पन्न भयो। यस प्रतियोगितामा पुरुष ३५+, पुरुष ४०+, पुरुष ५०+ अनि पुरुष ६०+ डबल्स वर्गका प्रतियोगितामा दार्जिलिङ, सिक्किम, कालेबुङ, खरसाङ, मिरिक, सिलगढी लगायत विभिन्न क्षेत्रका खेलाडीहरुले भाग लिएका थिए जसमा पुरुष ३५+ अनि ४०+ वर्गमा सिलगढीका शान्तनु अनि एलेन, ५०+ पुरुष वर्गमा सिंगताम सिक्किमका गणेश अनि साजन अनि ६०+ पुरुष वर्गमा दार्जिलिङका डा० प्रवीण अनि एन० के० राणा विजयी रहेका थिए। विजयी हुने खेलाडीहरुलाई एसोसिएसनको तर्फबाट आकर्षक ट्रफी साथै नगदराशि प्रदान गरियो। यसका साथै प्रतियोगितामा अंश ग्रहण गर्ने प्रत्येक खेलाडीहरुलाई पनि एसोसिएसनको तर्फबाट स्मृति चिनो प्रदान गरियो।

प्रतियोगितामा एसोसिएसनका सदस्य अनि पूर्व सचिव प्रज्ज्वल प्रधान, ऋचा प्रधान अनि सुरभी थापाले मुख्य निर्णायकको भूमिका निर्वाह गरेका थिए । खरसाङ ब्याडमिन्टन एसोसिएसनले ब्याडमिन्टन खेल संगसंगै समाजका विभिन्न प्रतिभा अनि समाजसेवीहरुलाई सम्वर्द्धन गर्दै आईरहेको छ। यसै क्रममा खरसाङका एक प्रतिष्ठित टेबल टेनिस खेलाडी जसले राष्ट्रिय स्तरका खेलमा स्वर्ण पदक प्राप्त गरिसकेका छन् भने भर्खरै ओमानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि अंश ग्रहण गरिसकेका गौतम कुमार छेत्रीलाई एसोसिएसनको तर्फबाट सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाएको छ। यसै गरी खरसाङका दुईजना युवा प्रतिभाहरु जोहरू स्नूकर खेलमा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने ईडेन तामाङ अनि सेवाङ लामा पाख्रिनलाई पनि एसोसिएसनको तर्फबाट सम्वर्द्धना जनाइयो । विभिन्न सामाजिक सेवाहरु गर्दै विपन्न अनि आर्थिक रूपले असहाय विद्यार्थीहरुको शिक्षाको निम्ति निःस्वार्थ भावले सेवा प्रदान गर्ने एक असल व्यक्तित्व ब्रिटिश आर्मीका पूर्व कप्तान एवम् उमा फाउण्डेशनका संस्थापक टीटी लामालाई पनि एसोसिएसनले सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाएको छ।

लामाले यस प्रतियोगिताको निम्ति आफ्ना कनिष्ठ पुत्र स्व. जिग्मी छिरिङ लामाको स्मृतिमा सबै ट्रफीहरु पनि प्रायोजित गरेका थिए। प्रतियोगिताको समापन समारोहमा विशिष्ट अतिथिका रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सभासदद्वय नुरी शेर्पा अनि श्याम शेर्पा, खरसाङ ट्राफिक अधिकारी दोर्जी शेर्पा, पूर्व ब्याडमिन्टन खेलाडी कुन्तला प्रधान, सन्त एन्थोनी स्कूलका निदेशक अरुण गुरुङ, खरसाङ टुरिस्ट लजका प्रबन्धक प्रबीर प्रधान साथै सबै सम्वर्ध्दित व्यक्तिहरु उपस्थित रहेका थिए। एसोसिएसनका अध्यक्ष प्रेमेन्द्र गुरुङ अनि सचिव पियुष राईले यस प्रतियोगितामा अंश ग्रहण गर्ने सबै खेलाडीहरु, एसोसिएसन अनि आयोजक समितिका सबै सदस्यगण, निर्णायक टोली, प्रायोजक, एकाडेमीका बाल-बालिकाहरु साथै सबै आमन्त्रित विशिष्ट अतिथिहरुप्रति आभार व्यक्त गरेका छन् भनी एसोसिएसनका मिडिया प्रबन्धक बृज कमल राईले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement