गान्तोक: वित्तीय साक्षरता सप्ताह, २०२३ को अवसरमा १४ फरवरी, २०२३ को दिन सिक्किमका सबै जिल्लाहरूमा एकै साथ वित्तीय साक्षरता वाहन तैनाथ गरिएको थियो। गान्तोक जिल्लाअन्तर्गत जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक कार्यक्रममा जिल्लापाल तुशार गजानन् निखरेद्वारा झण्डा हल्लाएर वित्तीय साक्षरता वाहनलाई प्रस्थान गराइयो। यस अवसरमा गान्तोकका अतिरिक्त जिल्लापाल हेमन्त राई, स्थानीय ब्याङ्कका प्रतिनिधिहरू साथै अन्य सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

वित्तीय साक्षरता सप्ताह भारतीय रिजर्व ब्याङ्कको एउटा ध्वजवाहक कार्यक्रम हो, जसको उद्देश्य जन-जनमा वित्तीय साक्षरतालाई बढ़ावा दिनु हो अनि यो कार्यक्रम प्रत्येक वर्ष फरवरी महिनाको तेस्रो सप्ताहमा राष्ट्रव्यापी रूपमा सञ्चालन गरिन्छ। यो वर्षको वित्तीय साक्षरता सप्ताह गत १३ फरवरीदेखि १७ फरवरीसम्म ‘उत्तम वित्तीय व्यवहार-तपाईंको रक्षक’को मूलमन्त्रमा पालन गरियो जसको वित्तीय शिक्षाको लागि राष्ट्रिय रणनीति: २०२०-२०२५ को समग्र रणनीतिक उद्देश्यका साथ तालमेल छ।

भारतीय रिजर्व ब्याङ्क, गान्तोकबाट सहायक महाप्रबन्धक श्रीमती शालिनी शर्मा, सहायक सुश्री लिया बक्सी एवं सुश्री पेमा ल्हामु भोटियाको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा वित्तीय समावेशनको लक्ष्य हासिल गर्न सर्वसाधारणमा जागरूकता अनि वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पारियो। जिल्लापालले पनि दुर्गम ठाउँहरूमा यस माध्यमबाट वित्तीय साक्षरता फैलाउने आरबीआई गान्तोकको यस पहलको सराहना गरे।

वितीय साक्षरता सम्बन्धी अडियो सामग्रीका साथ लाउड स्पीकरले सुसज्जित यो वित्तीय साक्षरता वाहनले जिल्लाका सबै स्थानहरूमा यात्रा गर्दै आम जनतामाझ जागरूकता फैलाएको छ। उक्त वाहनलाई वित्तीय साक्षरता सहजकर्ताहरूले सञ्चालन गरेका थिए भने विशेष गरी जिल्लाका दुर्गम ठाउँहरूमा वित्तीय साक्षरता सम्बन्धी शिविरहरूको आयोजना गर्दै यससित सम्बन्धित पर्चा एवं प्रचार सामग्रीहरू पनि वितरण गरिएको थियो। -पीआईबी