गान्तोक: प्रेस क्लब अफ् सिक्किमको वार्षिक सभा आज एमपी गोलाइस्थित पत्रकार भवनमा सम्पन्न भयो। प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष शेखर खवासको अध्यक्षतामा सम्पन्न भएको सभामा विभिन्न विषय वस्तुमाथि छलफल साथै बहस भयो। सभामा संस्थाका महासचिव डीआर दुलालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अम्बर गुरूङले आय व्यायबारे पत्रकारहरूलाई विस्तृतरूपमा अवगत गराए। आज सम्पन्न भएको यस आमसभामा विशेष गरेर पत्रकार भवनलाई लिएर सबै सदस्यहरूले आफ्नो सुझाउ राखेका थिए भने यसरी नै डिजीटल मीडियाकर्मीलाई सदस्यता प्रदान गरिनेबारे पनि छलफल भयो। आगामी दिनमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग भेट गरेर विभिन्न समस्याबारे अवगत गराउने सभाले निर्णय लिएको छ। यसका साथै प्रत्येक वर्ष झै यस वर्ष पनि बनभोज कार्यक्रम आगामी ८ मार्चको दिन आयोजना गरिने छलफल भयो। आजको यस सभामा प्रेस क्लब अफ् सिक्किमका कार्यकारी सदस्य लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए।