१९ फरवरीः भारतले अष्ट्रेलियालाई बोर्डर-गावस्कर ट्रफीको दोस्रो टेस्ट म्याचमा ६ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले चारवटा टेस्ट म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गर्नको साथै बोर्डर-गावस्कर ट्रफी आफूसँग कायम राख्यो। दिल्लीको अरुण जेटली स्टेडियममा भारतले दुई दिनभन्दा अधिकको खेल बाँकी रहँदै म्याच जित्यो। भारतले यस मैदानमा १९९३-देखि टेस्ट म्याचमा हारको सामना गर्नु परेको छैन अनि यसपाली पनि रोहित शर्माको कप्तानीमा रहने टीमले परम्परालाई जारी राख्यो। आयोजक भारतको यस यादगार जीतमा रविन्द्र जडेजा नायक रहे। जडेजाले अष्ट्रेलियाको दोस्रो ईनिंग्समा ७ विकेट हासिल गरी भारतको जीत सुनिश्चित गरे। यसैकारण शनिवारको स्कोर १ विकेटमा ५१ रनदेखि अघि खेल्दै आज अष्ट्रेलियाको दोस्रो ईनिंग्स बिहानको सत्रमै केवल ११३ रनमा समाप्त भयो।

जडेजाले करियरको सर्वश्रेष्ठ प्रदर्शन गर्दै १२.२ ओभर बलिंग गरेर ४२ रन खर्च गरी ७ विकेट लिए। यसबाहेक रविचन्द्रन अश्विनले ३ विकेट हासिल गरे। यसरी भारतलाई जीतको निम्ति केवल ११४ रन बनाउने लक्ष्य हासिल भयो। भारतले पनि आफ्नो दोस्रो ईनिंग्समा 4 विकेटको नोक्सानमा ११८ रन बनाएर सजिलै म्याच जित्यो। चेतेश्वर पुजारा ३१ अनि श्रीकर भरत २३ रनमा अविजित रहे। यसबाहेक कप्तान रोहित शर्माले ३१ र विराट कोहलीले २० रन बनाए। श्रेयस अय्यर १२ र केएल राहुल १ रन बनाएर आउट भए। अष्ट्रेलियाई बलरहरूमा न्याथन लायनले सर्वाधिक २ विकेट लिए।

यसअघि आज बिहान अष्ट्रेलियाको दोस्रो ईनिंग्समा नाटकीय पतन भयो। ट्रेविस हेडले सर्वाधिक ४३ र मार्नस लाबुशेनले ३५ रन बनाए। यी दुईलाई छोड़ेर अरू कसैले पनि ९ भन्दा अधिक रन बनाउन सकेनन्। उस्मान ख्वाजा (६) शनिवार नै आउट भएका थिए भने आज स्टीभ स्मिथ (९), म्याट रेनशा (२), पीटर हेण्ड्सकम्ब (०), एलेक्स केरी (७) र कप्तान प्याट कमिन्स (०) लगातार अन्तरालमा आउट भए। यसरी अष्ट्रेलियाले आज आफ्नो ९ विकेट केवल ४८ रनमा गुमायो। म्याचमा जम्मा १० विकेट हासिल गर्ने भारतीय स्पिनर रविन्द्र जडेजाले प्लेयर अव् द म्याच चयन गरियो।