जोगमाया चियाबारीमा सप्ताहव्यापी श्रीमद भागवत कथा ज्ञान यज्ञ महापुराण सम्पन्न

IMG-20230218-WA0011.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीदेखि केही मुनि अवस्थित जोगमाया चियाबारीमा सप्ताहव्यापी सर्व शान्ति सार्वजनिक संगीतमय श्रीमद भागवत कथा ज्ञान यज्ञ महापुराण सम्पन्न भएको छ। गत १२ फरवरीदेखि शुरु भएको श्रीमद भागवत कथा ज्ञान यज्ञ महापुराण सात दिनपछि आज शिवरात्रीको दिन समापन गरिएको छ। जोगमाया पूजा कमिटीको आयोजनामा सम्पन्न उक्त सप्ताहव्यापी महापुराण जोगमाया क्षेत्रको उन्नति, शान्ति र समृध्दिको लागि आयोजना गरिएको बताइएको छ। उक्त महापुराणमा मुख्य कथावाचकको रूपमा सिक्किमबाट पण्डित सोमनाथ महाराज, आध्यात्मिक कथावाचक डुवर्सबाट पण्डित धणिराज महाराज, उपवाचक सिक्किमबाट पण्डुत निधुप्रसाद महाराज, भजन गायनमा सिक्किमबाटै लक्ष्मण काँफ्ले, तबलामा माणिक पराजुली, प्याडमा बिमल सिटौला अनि रबीन घिमिरे झाँकीमा र वैदिक पूजामा घैयाबारीको पण्डितहरू क्रमैले कुलप्रसाद कोइराला र पण्डित अधिकारी बाजे उपस्थित रहेका थिए। उक्त सप्ताहव्यापी महापुराणको पहिलो दिन कलश यात्राबाट शुरु भएको महापुराण विभिन्न दिनमा महापुराणको कथावाचन र विभिन्न झाँकीहरू प्रदर्शन गरेर आज सातौं दिनमा बिहान विभिन्न पूजाको साथमा समापन भएको छ।

यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको पक्षमा प्रणाम थापाले गत १२ फरवरीदेखि शुरु महापुराण शनिवार महाशिवरात्रीको दिन समापन भएको र सप्ताहव्यापी उक्त महापुराणको पहिलो दिन कलश यात्रा निकालिएको अनि प्रत्येक दिन कथा वाचन लगायत विभिन्न झ्याँकीहरू प्रदर्शन गरिएको बताएका छन्। उनले यो महापुराणमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् भने जीटीए चिफ् अनित थापालाई पनि आयोजक समितिको पक्षमा आभार प्रकट गरेका छन्। प्रणाम थापाले सहयोग गर्ने सबैलाई महापुराण आयोजक समितिको पक्षमा सम्बर्ध्दना पनि जनाइएको बताएका छन् भने महापुराणमा उब्रेको धनराशि रोहिणीस्थित वृध्दाश्रममा सहयोग प्रदान गरिने पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement