खरसाङ: खरसाङको विभिन्न स्थानहरूमा महाशिवरात्री पूजा श्रध्दा अनि भक्ति भावको साथमा पालन गरिएको छ। खरसाङ बजारको विभिन्न शिव मन्दिरहरू साथै यसको संलग्न स्थानहरूमा पनि महाशिवरात्री पूजा सम्पन्न गरिएको छ। खरसाङ महकुमा विभिन्न क्षेत्रहरूमा शिवरात्री पूजा सम्पन्न हुनको साथै सांगीतिक कार्यक्रमहरू पनि सम्पन्न भएको छ। विशेष गरी शिवरात्री पूजाको अवसरमा गायन अनि नृत्य प्रतियोगिता साथै अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सम्पन्न भएको जानकारी प्राप्त भएको छ। कतिवटा स्थानहरूमा शिवरात्री पूजाको अवसरमा सप्ताहव्यापी शिव महापुराणको समापन पनि गरिएको छ। खरसाङको विभिन्न स्थानहरू जस्तै- चोकी डाँड़ा, गिध्द पहाड़, अम्बटे चियाबारी, लङ्भ्यु चियाबारी, रोहिणी, महानदी, घुम्ती, घैयाबारी, तीनधारे, सिविटार चियाबारी, जोगमाया चियाबारी लगायत अन्य विभिन्न स्थानहरूतिर पनि शिवरात्री पूजा सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। त्यस्तै प्रकारले खरसाङको तीनधारे क्षेत्रमा पनि महाशिवरात्री पूजा श्रध्दा अनि भक्तिको साथमा पालन गरिएको छ। तीनधारेको सबैभन्दा पुरानो मानिएको क्रिकेट बजारमा अवस्थित रामेश्वर शिवालय मन्दिरमा ग्राम कल्याण समिति तीनधारे बजारको आयोजनामा बिहानदेखि मन्दिर परिसरमा मानिसहरू भेला भएर पानी चढ़ाएर शिवरात्री पूजा पालन गरेका छन्। शिवरात्री पूजाको अवसरमा मानव उत्थान सेवा समिति तीनधारेद्वारा भजन कीर्तन साथै सत्संगको आयोजना गरिएको थियो।

यस अवसरमा खरसाङबाट आएका माता बाईजीले प्रवचन दिएका थिए। त्यसरी नै साई सेवा समिति तीनधारेद्वारा पनि मन्दिरमा भजन कीर्तन गरिएको छ। यस मन्दिरमा पण्डित नगेन्द्र पोख्रेलद्वारा रूद्री पाठ पनि गरिएको थियो भनी तीनधारेबाट बिनयकुमार छेत्रीले जानकारी गराएका छन्। उनले बताए अनुसार बिहानैदेखि मानिसहरू लाइनमा उँभिएर पानी चढाएका थिए।