वारणसी: सिक्किमका भूतपूर्व सांसद् प्रेमदास राईले भारतीय प्राद्यौगिकी संस्थान कानपुरमा प्राक्तन विद्यार्थी पुनर्मिलन कार्यक्रममा भाग लिईकन आफ्ना बाबु तथा सिक्किमका शताब्दी पुरुष चन्द्रदास राईले एमए पढेका काशी हिन्दू विश्वविद्यालय आएका थिए। काहिविवि.-को भ्रमण क्रममा भारतीय भाषा विभागमा पनि सपत्नीक पदार्पण गरेका थिए। यस अवसरमा भारतीय भाषा विभागमा राई दम्पतीका लागि स्वागत कार्यक्रम आयोजन गरिएको थियो।
मङ्गलाचरण र कुलगीतपछि विभागाध्यक्ष प्रो.दिवाकर प्रधानले स्वागत भाषण राख्दै प्रेमदास राईको विद्यानुरागलाई सराहना गरे। स्नातकोत्तर छात्र आयुष प्रधानले शिक्षामा उच्चोपाधिलब्ध विद्वान् सामाजिक कार्य र राजनीतिका अनुभवी व्यक्तित्वका रूपमा प्रेमदास राईलाई सभासद्हरूसामु परिचित गराए। प्रो. गौतम लामाले आफू भूतपूर्व भूमिपुत्र भएको सिक्किम भूमिबाट विद्यानुरागी राजनायिकहरू सक्रिय भएको चर्चा गरे। प्रो. प्रमोद पडवलले सिक्किमको भक्ति परम्परामा कबीर पन्थको प्रभावले प्रेमदासबाट देशले विनयशील नेतृत्व पाएको उल्लेख गरे डा. अमित थापाले आज अतिथि भई आएका राई महोदय राजनैतिक नेताका रूपमा नभई विद्याप्रेमीका रूपमा पाएको उल्लेख गरे।
प्रेमदास राईले सर्वविद्याको राजधानी काशी विभिन्न जाति र भाषीहरूको संगम रहेको उल्लेख गर्दै प्रतीची र प्राचीको मिलन देख्न पाइने काशी हिन्दू विश्वविद्यालयबाट दीक्षित बनेका पिताको पुत्र हुन पाएको अनि काशीको अतिथि सेवाले मुग्ध भएको आशय प्रकट गरे। विभिन्न भाषा बोल्ने विद्यार्थीहरूसित सम्भाषण गर्दै अबका पिँढीले विद्याधनलाई नै प्रयोग गरेर अघि बढ्नुपर्ने सुझाव दिए। सम्भाषण कार्यक्रममा छात्रा इक्षा राईको प्रश्नको उत्तर दिँदै कुनै पनि काम तुच्छ नहुने ठानी अब इँटा-ढुङ्गा-काठका कामदेखि सिलाइ, बुनाइ, कटाइ, खेती, बेपारजस्ता शिल्पलाई आधुनिक प्रविधिले अघि बढाउँदै लैजान लजाउनु हुँदैन भन्ने सुझाव दिए। विचार विनिमय गर्दै छात्रा प्रकृति प्रधानले विद्वज्जनको राजनीति प्रवेशबारे सोधेकी प्रश्नको उत्तरमा यो समयको खेल हो भन्दै वैश्विक परिप्रेक्ष्यको उदाहरण दिए। छात्र कुमार प्रधानले सर्वोच्च न्यायालयको निर्णय र पुननिर्णयबारे सोधेको प्रश्नको उत्तर दिँदै घटनाका कालक्रमिक विवरण प्रस्तुत गर्दै यी कुरा दलगत राजनीतिदेखि माथि उठेर सोच्नुपर्ने, बुझ्नुपर्ने अनि गर्नुपर्ने बताए। पुण्यभूमि काशीको आध्यात्मिक र विद्वत्परम्परामा पूर्वोत्तर क्षेत्रको सहभागिता अझ बढोस् भन्ने कामना गर्दै आफू पनि पुण्य सलिला गङ्गाजी र पवित्र काशीले पावन बोध गरेको आत्मस्वीकृति व्यक्त गरे। डा. विघ्नेश अनन्तले धन्यवाद ज्ञापन गरेपछि सभा शेष भयो अनि राई दम्पती आफ्ना बाबु पढेको राजनीतिविज्ञान विभाग र बाबु बसेको अन्तर्राष्ट्रिय छात्रावास हेर्न गए। विश्वविद्यालयको भारत कला भवन सङ्ग्रहालय पनि भ्रमण गरे।









