भाले डुङ्गा रोपवे प्रोजेक्ट उद्घाटनको तयारीमा

WhatsApp_Image_2020_01_13_at_11_13_47_AM__1_.jpeg.jpg

गान्तोक: भाले डुङ्गा रोपवे प्रोजेक्ट उद्घाटनको तयारीमा पुगेको छ।२०१६ देखि निर्माण कार्य शुरु भएको भाले डुङ्गा रोपवे सञ्चालनमा आएपछि याङगाङको पर्यटनले नयाँ दिशा प्राप्त गर्ने विश्वास राखिएको छ। भाले डुङ्गा आध्यात्मिक र पर्यटन दुवै दृष्टीकोणले महत्वपूर्ण मानिन्छ जो समुद्र सतहबाट १० हजार ३०० फुटको उंचाईमा अवस्थित छ। यो पर्यटकीय स्थललाई विश्व पर्यटन मानचित्रमा सामेल गरेर याङगाङ लगायत यस वरिपरिका गाउँहरूमा आर्थिक विकासको नयाँ बाटो दिन सिक्किम सरकारले १४० करोड रुपियाँभन्दा अधिक धनराशि खर्च गरेर रोपवे निर्माण गराएको हो। फ्रान्सको पोमा कम्पनीले निर्माण गरेको भाले डुङ्गा रोपवे को कुल लम्बाई ३३१० मिटर र भर्टिकल लम्बाई १३४८ मिटर रहेको छ। १८ वटा क्याबिन रहेको केवलकार प्रति सेकेन्ड ६ मिटरको गतिमा चल्नेछ भने कुल दूरी पार गर्न लगभग १० मिनट समय लाग्ने निर्माण कार्यमा संलग्न पोमा कम्पनीका प्रोजेक्ट मेनेजमेन्ट कन्सल्टेन्ट सुगतो मजुमदारले जानकारी दिएका छन्।रोपवेको निर्माण कार्य पूरा भएर ट्रायल पनि भइसकेको छ। सञ्चालन शुरु गर्नअघि लगभग १५ जना युवालाई लिएर यहाँ रेस्क्यू तालिम पनि शुरु भएको छ जसमा सिक्किम लगायत पश्चिम बङ्गालका पनि युवाहरु समावेश रहेका छन्। जानकारी गराइन्छ, भाले डुङ्गामा रोपवे प्रोजेक्ट समाप्त भएपछि स्काइवाक निर्माण गर्ने सिक्किम सरकारको परियोजना अहिले भारत सरकारमा विचाराधीन अवस्थामा छ सिक्किम विश्वविद्यालय क्याम्पस परिसरबाटै शुरु हुने भाले डुङ्गा रोपवे सञ्चालनमा आएपछि स्थानीय मानिसहरूलाई व्यापक फाइदा हुने स्थानीय व्यवसायी विजय सुब्बा र युवा हेमकुमार गुरुङले विश्वास व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement