१७ फरवरीः मोहम्मद शमीको घातक पेस बलिंगको साथ रविचन्द्रन अश्विन र रविन्द्र जडेजाको स्पिनर आक्रमणको सहायताले भारतले बोर्डर-गावस्कर टेस्ट सीरीजको दोस्रो टेस्ट म्याचको पहिलो दिन नै अष्ट्रेलियालाई चेपारोमा पाऱ्यो। दिल्लीको अरुण जेटली स्टेडियममा शुक्रवारदेखि शुरु दोस्रो क्रिकेट टेस्ट म्याचको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गर्ने अष्ट्रेलियाको पहिलो ईनिंग्स २६३ रनमा समाप्त भयो। जवाफमा भारतले आफ्नो पहिलो ईनिंग्समा पहिलो दिनको खेल समाप्त हुँदासम्म कुनै विकेट नगुमाइ २१ रन बनाएको छ। कप्तान रोहित शर्मा १३ अनि उनका साथी ओपनर केएल राहुल ४ रनमा अविजित छन्। यसरी भारत पहिलो ईनिंग्सको आधारमा २४२ रन पछि रहेको छ अनि हातमा अझ दश विकेट रहेको छ। यसअघि अष्ट्रेलियाको पहिलो ईनिंग्समा ओपनर उस्मान ख्वाजा र पीटर ह्याण्ड्सकम्बको अर्द्धशतक मुख्य आकर्षण रह्यो। ख्वाजाले १२५ बलमा १२ वटा चौका र एउटा छक्काको साथ सर्वाधिक ८१ रन बनाए। यसरी नै हाण्ड्सकम्बले १४२ बल खेलेर नौवटा चौकाको साथ ७२ रन बनाए। कप्तान प्याट कमिन्सले आठौं नम्बरमा ओर्लिएर ३३ रनको योगदान दिए। टीमका प्रमुख ब्याटरहरू डेविड वार्नर (१५), मार्नस लाबुशेन (१८), स्टीव स्मिथ (०) र ट्रेविस हेड (१२)-ले आज कुनै खास योगदान दिन सकेनन्। भारतीय बलरहरूमा मोहम्मद शमीले सर्वाधिक ४ विकेट हासिल गरे। यसबाहेक दुईजना स्पिनर अश्विन र जडेजाले ३-३ विकेट लिए। चारवटा टेस्ट म्याचको सीरीजमा भारत अहिले १-०-ले अघि रहेको छ।










