१७ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं संस्करणमा ५८ जीटीसी (गोर्खा ट्रेनिंग सेण्टर), शिलंग च्याम्पियन भयो। सुकना हायर सेकेण्डरी स्कूल खेल मैदानमा शुक्रवार भएको फाइनलमा ५८ जीटीसी-ले कालेबुङको युनाइटेड ब्रदर्सलाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गऱ्यो। दुई टीमबीच नब्बे मिनटको खेलमा रोमाञ्चक प्रतिस्पर्धा भए पनि कुनै गोल हुन सकेन। यसरी नियमित समयको खेलमा कुनै गोल हुन नसक्दा पेनल्टी शूटआउट गराइयो, जसमा भाग्य ५८ जीटीसी शिलंगको पक्षमा रह्यो। पूर्व एडीएम गोपाल लामाको अध्यक्षतामा भएको फाइनल म्याचमा मुख्य अतिथिको रूपमा सांसद राजु बिष्ट उपस्थित थिए। यसबाहेक विशिष्ट अतिथिको रूपमा हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्स, क्याप्टन एमबी लिम्बु (निदेशक, याकथुंग सेक्योरिटी सर्विस), कर्णल विमल देवान, भारतीय फूटबल टीमका पूर्व कप्तान भाईचुङ भूटिया, राष्ट्रिय स्तरका फूटबलर नादोङ भूटिया, राष्ट्रिय स्तरका पूर्व फूटबलर मनजीत सिंह र दिनकर छेत्रीसहित अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। आज कालेबुङको कुमिदिनी होम्सको ख्यातिप्राप्त ब्याण्ड डिस्प्ले मुख्य आकर्षण रह्यो।

संक्षिप्तमाः
च्याम्पियनः ५८ जीटीसी, शिलंग
रनरअप्ः युनाइटेड ब्रदर्स, कालेबुङ
फेयर प्ले ट्रफीः रोयल एफसी, सिलगढ़ी
बेस्ट प्रमिशिंग प्लेयरः अभिषेक ठाकुरी (केएफसी)
बेस्ट डिफेण्डरः सोनम छो शेर्पा (युनाइटेड ब्रदर्स)
बेस्ट साइड ब्याकः पूर्न बहादुर गुरुङ (५८ जीटीसी)
बेस्ट मीडफिल्डरः नोयल दोर्जी (५८ जीटीसी)
बेस्ट विंगरः रेभन सुन्दास (५८ जीटीसी)
बेस्ट स्ट्राईकरः अरुण तामाङ (केएफसी)
हाईएस्ट स्कोररः साजन साईबो (सीएनएफए, मिलनमोड़)
बेस्ट गोलकीपरः राजान राणा (५८ जीटीसी)