रिनाक: शिक्षक सन्दीप प्रधानको समन्वयमा सहयोगी मिङमा ग्याल्छेन शेर्पाको साथमा सरकारी वरिष्ठ माध्यमिक विद्यालय रिनाक अनि सुदुङलाखाका विद्यार्थीहरूलाई आजदेखि २० फरवरीसम्म चार दिवसीय चरा हेर्ने यात्राको निम्ति विद्यालयबाट लगेका छन्। चार दिवसीय यस यात्रामा आरिटाङ, खामदोङ जंगलको बाटो हुँदै यी विद्यार्थीहरूलाई त्यहाँ पाइने चराहरू देखाउँदै त्यसबारे जानकारी दिइनेछ। यस यात्रामा रिनाक सीनियर सेकेण्डेरी स्कूलका १० अनि सुदुङलाखा स्कूलका ५ विद्यार्थी रहेका छन्। यस टोलीले शुरुआतमा १.५ किलोमिटरको दूरी तय गर्दै १७ प्रजातिहरू चिह्नित गरिसकेको जानकारी प्राप्त भएको छ। यो यात्रा ग्रेट ब्याकयार्ड बर्ड काउण्टको ब्यानरमा ई बर्ड इण्डिया, बर्डवाचर्स सोसाइटी एण्ड सिक्किम बर्डको ग्रेट ब्याकवार्ड बर्ड काउण्टद्वारा सञ्चालन गरिएको छ।

विद्यार्थीहरूलाई आफ्नो वरिपरिको परिवेशबारे अध्ययन गर्ने साथै बुझ्ने यस सुन्दर अवसर प्रदान गर्दै प्रोत्साहन अनि सहयोग गरेकोमा यात्राका समन्वयक एवं शिक्षकद्वय सन्दीप प्रधान अनि मिङ्मा ग्याल्छेन शेर्पाले रिनाक सीनियर सेकेण्डेरी स्कूलका प्रधानाध्यापक एसके प्रधान, सुदुङलाखा सेकेण्डेरी स्कूलका प्रधानाध्यापक सुमन छेत्रीप्रति आभार व्यक्त गरेका छन्।